विश्व सिग्देल
पचास बर्ष पहिले रानीपौवा बजारका प्रत्येक घरमा कपडामा बुट्टा छाप्ने काम हुन्थ्यो ,सांघुमुख देखी बिन्ध्यबासिनी संम चिउरा कुटने ,चरेस तामा सिलोट आदिका भांडा बनाउने कुटिर उद्योगहरु बग्रेल्ति थिए ,महिलाहरु तानमा कपडा बुन्ने , धुप बाट्ने , पसल रुंग्ने काम संगसंगै गर्थे ।ब्यापारीहरु समेत मात्र ब्यापारी थिएनन ,मौसम अनुसार खेतबारीमा कृषिकर्ममा लाग्दथे ।जनै पुर्णिमाको एक महिना अगावै घरघरमा जनै ताओहरु बनाउने माचो हुन्थ्यो ।लेकबाट राडी पाखी काम्लो कपडा कागज उन अल्लो र गांजाको रेसाबाट बनेका बस्तुहरु ,स्याखु छत्री हलो फाली आंसी खुर्पा बञ्चरो डोको नाम्लो थुन्से आदि हाटबजार मेला जात्रा ,हल नचल्ने औंसी पुर्णिमाका दिन पार्र बजार झर्थे ।
सिठाबाट पोखरा मट्टितेलमा पदोन्नति भएको थियो ।बटौलीबाट ढाकरमा ढाक्रेहरुले बोकेर ल्याएका मट्टितेलका टिनका टिन पसल अगाडी पसारो हुन्थ्यो ,घोडा चड्ने एकाध धनीहरु बाहेक सडकमा पैदल हिंडनेहरु मात्र हुने हुंदा निर्धक्क संग हिंडन पाइन्थ्यो ।जिरा र मट्टितेल बाहेक पोखरा आत्मनिर्भर थियो ।बिदेसी सामान भनेको लाहुरेले छुट्टीमा आंउदा ट्यांकामा ल्याउने लालटिन फिलिप्स रेडीयो मखमल वैस्ट एन वाच घडी हुन्थ्यो । समग्रमा पोखरा आत्म निर्भर थियो ,लगभग देश आत्मनिर्भर थियो ।
अहिले करोडौं रुपियांको दांत कोक्याउने सिन्का चिन भारत बाट आंउछ ।नेपालमै सय रुपियां प्रति घना पर्ने बांस र फरिदाबादमा बन्ने भारु छ दस हजार जति पर्ने मेसीनले सिन्का बन्दो रहेछ ।धुपबत्ति जनै ताओ देउताका मुर्ति चिनबाट आउन थाल्यो ।यस्ता प्रबिधी ,पुंजी नचाहिने सामान्य सीप भए पुग्ने बस्तुहरुको सुचि हजार पुग्छ ,जुन हामि यही बनाउन सक्छौं , लाखौंलाइ रोजगार दिन सक्छौं ,आयात सुन्य पार्न सक्छौं यि हाम्रै रैथाने सीप हुन । यसरी महत्व नदिएका ससाना बस्तु जुन यहीं बन्न सक्छ , हिजो बनाउंदै आएका पनि हौं ,सबै जोडदा खरबका खरब नेपाली संपत्ति बिदेश जाने रहेछ ।काम नपाएर अरब पुग्ने लाखौंलाख नेपाली यहिं अड्याउन सकिन्थ्यो ,पुंजी यहीं अडिन्थ्यो ।
मन्दिरमा अरबौंको चुनरी र नरिबल चड्छ ,जुन भारतबाट आउंछ । करोडौंको राखी ,भेलेन्टाइनको सुभकामना कार्ड नेपाल भित्रिदों रहेछ ,दुबै हाम्रा मौलिकता परंपरा संस्कार संस्कृति संग कुनै अर्थ राख्दैनन ।किताबमा कर लगाउन भ्याउने सरकारले यस्ता फाल्तु बस्तु आयातमा प्रतिबन्ध लगाउन सक्दैन ।
पोखरामा पानका डुलुवा पसलहरु पचास बर्ष देखिनै देख्दै आएका हौं ।पछी पछी टंकी ,सटरको सानो भाग भाडामा लिएर स्थाइ रुपमै दुइचार पसल देखिए ।पान अम्मल भएर होइन संभ्रान्त देखीन , हुनेखाने देखिन पान चबाउनेहरु पोखरेली र भारतिय र तराइ मुलका नेपाली बाहेक अन्य देखिदैनथे ।तर काठमाण्डौ पोखरा जस्ता पहाडी सहरहरुमा मात्रै करोडौंको पानको पत्ता खपत हुंदो रहेछ ,जुन पत्ता घर घरमा शोभाको लागी लगाइएको मनिप्लान्टको सट्टा लगायो भने पनी धेरथोर पैसा नेपालमै रहने हुंदोरहेछ ।
हिजो आज पुजाआजा श्राद्ध आदिमा पनि पानको पात चाहिने ढस्सा सुरु भएको रहेछ ।हुन पनि श्राद्ध र अन्य सुभकर्मका पुजा बिधिको पुस्तक हेरेको त पान समेत चडाउ भनेको रहेछ छ ।हाम्रा देबी देउता भारतकै भएकोले पनि होला ।पुजा समाग्रीमा पानको पात थपिन थालेको पनि देखियो।अब पानको पत्ता आयातमा नयां ढस्सा थपियो ।
उत्तम जातको पानको बिरुवा पोखरामै स्वाद संग उम्रने रहेछ ।मोदी संग ,भारत संग बदला लिने भनेको भारतबाट आउने बस्तु हामीकहां उत्पादन गरेर हो ।दाल चामल त के कोदो समेत कहिले आउला र खाउंला भनेर हत्केलाको पाली गांसेर दक्षिण तिर हेर्न पनि नछाड्ने , दक्षिणतिरै फर्केर हत्केलाले धारे हात लाउन पनि नछोड्ने बानी छोडेर प्रबिधि सिप र पुंजीले नभ्याउने बस्तुमा निर्भरता घटाउने ,पुंजी प्रबिधि नभएपनि हुने मौलिक सीप भयका ससाना उद्यमलाइ युद्धस्तरमै लैजानुको अब बिकल्प छैन ।