पोखरासिटि
पोखरा : १४ कार्तिक – विश्वलाई नै आतंकीत बनाउँदै डडेलो झै फैलिएको कोरोना जति सचेत हुँदा पनि मलाई पनि २४ दिन अघि संक्रमण भएको थियो । मुटुको समस्या भएका, अपरेसन गरेकाहरुलाई कोरोनाले अरु सामान्यलाई भन्दा दुःख दिन्छ भन्ने समाचार सुन्दै र पढ्दै आएको थिए ।
त्यसैले पनि म कोरोना लाग्नै नदिन सचेत थिए । मुटुको भल्भले काम नगरकोले मेरा २४ वर्ष अघि नै भल्भ फेरिएको थियो । डा भगवान कोइराला मेरोलागि भगवान बनेर सफल अप्रेसन गर्नु भएको थियो । कोरोना संक्रमण भएपछि उहाँलाई फोन गरे । उहाँले तिमी उच्च मनोवल भएको मान्छे सजिलै कोरोनालाई जित्छौ ढुक्क होउँ भन्नु भएपछि थप उर्जा मिलेको थियो ।
मुटुको अप्रसेन गरेको भए पनि म कहिल्यै पनि नेगेटिभ सोच्दै सोच्दैन थिए । सधै पोजेटिभ सोच्थे । यही आत्मबलले नै मलाई सगरमाथा आधार शिविर सम्म पु¥यायो । २०६६ साल जेठ १५ गते सगरमाथा म्याराथनमा सहभागी भए । अन्नपूर्ण म्याराथनमा भाग लिए । ५ हजार ६ सय १६ मिटर उचाईको थोरङला पास धेरै पटक पास गरे । विश्वकै अग्लो ठाउँमा रहेको तिलिचो ताल तिन पटक पुगे । अन्नपूर्ण बेसक्याम्पमा पटक पटक पुगे उच्च हिमाली क्षेत्रका मेरो यात्रा आत्मबलले नै पु¥याएको हो ।
यसैले पनि कोरोना संक्रमण भएको पहिलो खवर पाउँदा केही डर लागे पनि जित्छु भन्ने मेरो आत्मबल बलीयो भएर आएको थियो । मैले कति मुटुको अप्रेसन गरेका, मुटुको समस्या भएका युवाहरु जिवननै अव सकीए जस्तो गरि पिरमानेको देखेको छु । सुनेको छु । समस्या पिरमानेर जितिदैन । खानपानमा के खान हुने के नहुने हेक्का राखेर अनुशीत बन्नु पर्छ । डाक्टरले दिएको औषधी नियमीतरुपमा सेवन गर्नु पर्छ । बस यति भएछि मलाई यो रोग लागेको छ भनेर चिन्ता मान्नु नै पर्दैन । जितिन्छ सबै खाले शरिरमा आक्रमण गर्ने भाइरस र रोगहरु ।
कोरोना संक्रमण पुष्टि भएको २५ औं दिनमा मैले कोरोना जिति सकेको छु । तपाईहरु पनि उच्च मनोबल बनाउनोस । खानपानमा ध्यान दिनोस । तातो सुप, बेसारपानी, प्रोटीन युक्त खाना, फलफुल खानोस । फ्रिजमा राखेको चिसो केही पनि सेवन नगर्नोस । रक्सी, चुरोट त छुदै नछुनोस । बस यति गरेपछि तपाईले पनि मैले जस्तै सजिलै कोरोनालाई परास्त गर्नु हुन्छ ।
कोरोना जिति सके पनि मेरो मनमा रहेको कुरा जति सचेत हुँदा हुँदै पनि कोरोना कसरी शरिरमा प्रवेश गर्छ होला । मैले अझै बुझन सकीरहेको छैन । म घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क,सेनिटाईजर र पन्जाको प्रयोग गर्थे । साथीभाईहरु संग सामाजिक भौतिकदुरी गरि बस्थे । औपचारिक कार्यक्रममा जान्थिन । तै पनि कतिपय जिम्मेवारी कामका कारणले जानै पर्ने सामान्य क्रियाकलापमा सहभागी हुन जादा मेरो शरीरमा पनि कुन बेला कोरोना भाईरसले डेरा जमाई सकेको रहेछ थाहा नै भएन । सामान्य शरीर दुख्ने ,ढाड दुख्ने,छाती दुख्ने जस्ता लक्षणहरु देखा परेको थियो । त्यस पछि पत्रकार भाई अमृत सुवेदीको फेसबुक स्टाटस संग मेरो पनि केहि लक्षणहरु मेल खान पुग्यो । उनलाई कोरोना संक्रमण भएको जानकारी फेसबुक स्टाटबाट त्यसै दिन थाहा भएको थियो ।
अनि मैले पनि स्वाब दिने निर्णयमा पुगे । पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई फोन गरेर सबै कुरा भने र दोश्रो दिन स्वाब दिने कुरा भयो । असोज २१ गते बुधवार स्वाब दिए र रिजल्टको पर्खाईमा कुरि बसे । अन्तत शुक्रवार २३ गते बेलुका फोन आयो रिपोर्ट पोजिटिभ अव बल्ल तनाव हुन थाल्यो । तनावको कारण त्यही २२ बर्ष अगाडि गरेको मेरो ओपन हार्ट सर्जरी थियो । मुटु रोग विशेषज्ञ डा.भगवान कोईरालाले उच्च मनोबल बनाउन थप उर्जा दिनु भएको थियो । त्यतिनै बेला मीन गुरुङदाईको फोन आयो र मलाई औषधीहरु खानु पर्ने बताउनु भयो र डा बुद्धी बहादुर थापालाई कल गर्ने सुझाव दिनुभयो । डा को सुझावमा औषधी खान शुरु गरे ।
कोरोना संक्रमण हुनु भनेको ठुलै अपराध गरे जस्तो व्यवहार समाजमा संक्रमितले भोगी रहेका छन् । यसो गर्नु भनेको झन कारोना संक्रमण फैलन थप मलजल गर्ने व्यवहार हो । त्यसैले कोरोना संक्रमितलाई हेला होइन उर्जा दिउँ । कोरोना संक्रमित खुल्दा अरुलाई संक्रमण हुने क्रम रोकीन्छ । त्यसैले मैले कोरोना संक्रमण पुष्टि भएकै दिन सार्वजनिक गरे । मेरो सम्पर्कमा रहनु भएका साथी, भाइ, इष्टमित्र सचेत हुन सजिलो भयो ।
सबैजनाको सल्लाह सुझावले घरमानै आईसोलेसन बसेको थिए । यसरी आईसोलेसनमा बस्दाका दिनहरु तनाव र रमाइलोको मिश्रण रहयो । यसरी दश दिन काटियो र फेरि स्वाब दिने निर्णय गरे कारण मलाई कुनै पनि लक्षणहरु थिएन । तर रिजल्ट फेरि पोजिटिभ आयो । कार्तिकको ५ गते वडा कार्यलय वडा नं १२ बाट फोन आयो र स्वाब दिनको लागि मालेपाटन जानु पर्ने भयो र गएर दिए र फेरि रिपोर्टको पर्खाईमा दिनहरु काट्न थाले । अब त रिपोर्ट नेगेटिभ आउँछ भन्ने विश्वास थियो । विश्वास अनुसार नै २५ औं दिन जानकारी आयो, रिपोर्ट नेगेटिभ छ । मैले २५ औं दिनमा कोरोना जित्न सफल भए । कार्तिकको ५ गते दिएको स्वाब को रिपोर्ट बल्ल १४ गते शुक्रवार नतिजा नेगेटिभ आयो । यो दश दिन सम्म पुरै तनावमा दिन रातहरु विताए रोगले भन्दा पनि तनावले ज्यान लाने हो कि जस्तो लाग्ने। समयमा रिजल्ट नआउदाको त्यो क्षण ऊफ जिन्दगी । धेरैभन्दा धेरैले कोरोना जितिरहेका छन् भने मैले पनि कोरोनालाई जितिन्छ भन्ने पक्का थियो । मैले हार्नुपर्ने कुनै कारण थिएन । मरिन्न भन्ने ढुक्क थियो । तर, पनि यो बीचमा खेपेका मानसिक असरहरु थुप्रै छन् । सामाजिक दुरव्यहार र अपहेलना अझै जित्नै बाँकी नै छ ।