Home » महिलामैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा

महिलामैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा

by Pokhara City

पोखरा ।

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले महिलामैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखराको रेडियो जननी ९०।६ मेगाहर्जले आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “व्यवसायमा महिला, अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो भन्नुभएको हो ।

मन्त्री थापाले समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन हुँदै आएको उल्लेख गर्नुभयो । व्यवसायिक, राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेखनिय रहेको भनाई उहाँको छ । उहाँले गण्डकी प्रदेश सरकारले स्तन क्यान्सर र पाठेघर क्यान्सरको निशुल्क उपचार गर्ने निर्णय गरेको जानकारी गराउनुभयो । क्यान्सर पीडितका लागि नेपाल सरकारले एक लाख र गण्डकी प्रदेश सरकारले ५० हजार उपलब्ध गराउँदै आएको मन्त्री थापाले बताउनुभयो । उहाँले व्यवसायिक क्षेत्रमा महिलाहरुको आर्कषण बढाउन प्रदेश सरकारले सहज नीति निर्माण गर्दै आइरहेको बताउनुभयो ।

मन्त्री थापाले प्रदेश सरकारले कोभिड प्रभावित व्यवसायिक क्षेत्रलाई ब्याज सरकारले नै तिर्ने गरी कर्जा उपलब्ध गराउन लागेको बताउनुभयो । यसका लागि चालू आर्थिक वर्षको जीवन रक्षा कोषमा एक अर्ब रुपैयाँ राखिएको भनाई उहाँको छ । सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा देखिएको विभेदको अन्त्य गर्न सम्बद्ध संघसंस्थाले महिला जागरण सम्बन्धि तालिम समयसमयमा गरीराख्नुपर्ने मन्त्री थापाले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको जनगणनाअनुसार ३७ प्रतिशत महिलाहरुले मात्र रोजगारी पाएको बताउनुभयो । महिलाहरु आफै नै जाग्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ । पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले महिलाहरुलाई सुरक्षित वातावरण बनाउनुपर्ने बताउनुभयो । महिलाका अधिकार र मुद्धाहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा रेडियोकी संस्थापक अध्यक्ष हिरा भट्टराईलाई जननी सम्मानद्वारा सम्मान गरिएको थियो ।

You may also like