पोखरा
पोखरामा हरेका व्यावसायिक प्रतिष्ठानहरु अहिले एउटा सूचनाले त्रसित र आक्रोशित बनेका छन् । त्यो हो–विज्ञापन करको लागि थमाइएको पत्र ।
पत्रमा हरेक पसलहरुले टाँसेको १० वर्ग फुटभन्दा माथिको शुल्क लाग्ने उल्लेख गरिएको छ । पोखरा महानगरसँग होर्डिङ बोर्डको ठेक्का लिएको साइन हव प्रालिले पठाएको पत्रबाट व्यवसायीहरु आक्रोशित बनेका छन् । राज्यका निकाय र महानगरपालिकालाई व्यवसायसहित अन्य कर तिरेर संचालन गरिरहेको व्यवसायको प्रचार गर्न पाउनुपर्ने उनीहरुको जिकिर छ । तर, आर्थिक वर्ष २०७८÷०८९ को लागि १ करोड ५ लाखमा विज्ञापन करको ठेक्का लिएको सो कम्पनीले दावी छाडेको छैन ।
व्यवसायीहरुलाई कर तिर्न ताकेता गरिएपछि छाता संस्था पोखरा उद्योग वाणिज्य संघले कडा शब्दमा आपत्ति जनाएको छ । संघले महानगरको सहमतिमा भएको यो ज्यादतिलाई ‘स्वेत आतंक’को संज्ञा दिएको छ । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विज्ञापन करको नाममा मच्चाइएको स्वेत आतंक बन्द गर्न माग गर्दै अन्यथा कदम चाल्ने चेतावनी दिएका छन् ।
‘व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ,दर्ता शूल्क, आयकर,व्यवसाय करसहितका सबै कर तथा मूल्य अभिवृद्धि कर संकलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीहरुको सार्वभौम अधिकार हो’,विज्ञप्तिमा भनिएको छ,‘ कानूनले दोहोरो कर बर्जित गरेको छ । व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानूनको उलंघनमात्रै हैन,व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथिको पनि धावा हो ।’संघले महानगर कर तिर्ने नागरिकप्रति अराजक र स्वेच्छाचारी भएको आरोप पनि लगाइएको छ ।
संघको विज्ञप्तिमा पोखरा नगरमा थुप्रिएको फोहरको तत्काल व्यवस्थापन गर्न महानगरको ध्यानकर्षण पनि गराइएको छ ।
‘स्वच्छ, हराभरा पोखरा’ को नारा दिएको महानगरमा सर्वसाधारणको स्वास्थ्य तथा व्यापार÷व्यवसायमा नै असर पुग्ने गरी फोहर थुप्रिनु महागनरको कमजोरी भएको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ,‘एकातिर व्यवसायीहरुलाई अवैधानिक करको भार बोकाउन उद्यत हुने र अर्कोतर्फ उठाएको करको सदुपयोग नगर्ने महानगरको प्रवृत्ति फोहर व्यवस्थापनमा देखिएको उदासीनताले पुष्टि गरेको हाम्रो ठम्याइ रहेको छ ।’
प्रेस विज्ञप्ति
पोखरा महानगरपालिकाले ‘विज्ञापन कर’ को नाममा केही दिनयता उद्योगी÷व्यवसायीहरुमाथि सिर्जना गरेको ‘स्वेत आतंक’प्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को लागि पोखरा नगर क्षेत्रको विज्ञापन कर उठाउने अख्तियारी आफूले प्राप्त गरेको जानकारीसहित साइन हव प्रालिले केही दिनयता व्यवसायीहरुको पसल÷कवलमा पुगी अनावश्यक दवाव र मानसिक यातना दिँदै आएको छ । पोखरा महागनर संघीय सरकारले तोकेका राजश्वहरु संकलन गर्न स्वतन्त्र छ । तर,व्यवसायीहरुले आफ्नो व्यवसायको चिनारीको लागि राखिएका बोर्डहरुको पनि शुल्क असुल्न खोज्नु कुनै पनि कोणबाट जायज छैन । व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ,दर्ता शूल्क, आयकर,व्यवसाय करसहितका सबै कर तथा मूल्य अभिवृद्धि कर संकलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीहरुको सार्वभौम अधिकार हो । कानूनले दोहोरो कर बर्जित गरेको छ ।
व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानूनको उलंघनमात्रै हैन, व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथिको पनि धावा हो । महानगरको गैरजिम्मेवार,अराजक तथा स्वेच्छाचारी प्रवृत्ति हो । भएका व्यवसायहरुलाई संरक्षण गर्नुपर्ने दायित्व भुलेर राज्यबाटै व्यवसायीमाथि विज्ञापन करको नाममा लादिएको यो कर कुनै पनि सर्तमा नतिर्नेमा पोखरा उद्योग वाणिज्य संघ दृढ रहेको छ । पोखरा उद्योग वाणिज्य संघ, महानगरले यसअघि यस्तै अव्यवहारिक र नाजायज रुपले कर उठाउन खोज्दा प्रतिकार गरिएको स्मरण गराउँदै तत्काल विज्ञापन करको नाममा मच्चाइएको स्वेत आतंक बन्द गर्न जोडदार माग गर्दछ । अन्यथा पोखरा उद्योग वाणिज्य संघ कठोर कदम चाल्न बाध्य हुने पनि हामी जानकारी गराउँछौं ।
यसैगरी, पोखरा उद्योग वाणिज्य पोखरा नगरमा केही दिनयता थुप्रिएको फोहर व्यवस्थापनको लागि महानगरको ध्यानाकर्षण पनि गराउँछ । ‘स्वच्छ, हराभरा पोखरा’ को नारा दिएको महानगरमा सर्वसाधारणको स्वास्थ्य तथा व्यापार÷व्यवसायमा नै असर पुग्ने गरी फोहर थुप्रिनुलाई हामीले महानगरको कमजोरीको रुपमा लिएका छौँ । फोहर के कारणले उठेन भन्ने प्रष्टिकरण दिएरमात्रै महानरले उन्मुक्ति पाउँदैन । जनताबाट फोहरमैला कर संकलन गरेको महानगरले अविलम्ब नगरबाट फोहर उठाउनुपर्छ र नागरिकको स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ । एकातिर व्यवसायीहरुलाई अवैधानिक करको भार बोकाउन उद्यत हुने र अर्कोतर्फ उठाएको करको सदुपयोग नगर्ने महानगरको प्रवृत्ति फोहर व्यवस्थापनमा देखिएको उदासीनताले पुष्टि गरेको हाम्रो ठम्याइ रहेको छ ।