पोखरा, २५ चैत्र
गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्चले पोखरामा एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङलाई अभिनन्दन गरेको छ।
गुरुङ समुदायका दुई गुरुङले विशेष जिम्मेवारीमा रहेकाले गुरुङ लगायत यस क्षेत्रकै गौरब अभिवृद्धि गरेको भन्दै मञ्चले अभिनन्दन पत्र, फेटा,भाङ्ग्रा, मालाबाट अभिनन्दन गरिएको हो। उहाँहरुलाई मञ्चका अध्यक्ष रत्नमान गुरुङ र सल्लाहकार प्रमुख एवम निर्वतमान अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले अभिनन्दन गर्नुभएको हो। यस अघि अभिनन्दित व्यक्तित्वहरुको जीवनीको बारेमा मञ्चका अध्यक्ष रत्नमान गुरुङले चर्चा गर्नुभएको थियो।
कार्यक्रममा अभिनन्दित प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आत्मोन्नतिको अभियानमा बौद्धिक व्यक्तित्वहरुको संस्था नै स्थापना गरी अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले बौद्धिकताले नै समुदाय, समाज, मुलकुलाई हाँक्न र मार्गनिर्देशन गर्नुपर्ने बताउनुभयो। संस्थाका नामका बारेमा उहाँले केही सुझाव समेत दिनुभएको थियो।
अर्का अभिनन्दित कुलपति प्रा.डा.गणेशमान गुरुङले तमु एकता, शिक्षा, निजामती सेवा, व्यवसायिकतातर्फ अघि बढाउन गुरुङ प्राज्ञिक मञ्चले भुमिका खेल्नुपर्ने बताउनुभयो। राजनीतिमा चासो राख्ने, नेतृत्व सम्हाल्ने र तमुहरुलाई जागरण गर्न पनि मञ्चले प्रोत्साहित गर्न उहाँको भनाई थियो।
मञ्चका अध्यक्ष रत्नमान गुरुङको अध्यक्षता, सचिव कमल गुरुङको संचालन र उपाध्यक्ष अधिवक्ता अनिता गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा गोरखा स्मारक ट्रष्टका महासचिव डा.चन्द्रबहादुर गुरुङ, मञ्चका सल्लाहकार प्रमुख तथा निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ, सल्लाहकार तथा बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिं गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो।