२०७८ चैत २९, पोखरा ।
२२ वर्ष अघि निकै रुचाइएको गीत हो “पहिलो नजर” । अमित गुरुङको सिर्जनामा भाई गुरुङले उक्त गीतमा आवाज भरेका थिए । एउटै गीतबाट उनलाई सफलता मिल्यो । गीतलाई मन नपराउने कोहि भएनन् । सबैको मनमा बस्न सफल भयो । जताततै गुन्जिन थाल्यो । खासगरी युवायुवतीहरुको रोजाईमा पर्न सफल भयो ।
तत्कालिन समयमा पोखराबाट बनेका गीतले राम्रै सफलता पाउथ्यो । यहाँको पप गीतसंगीतलाई रुचाउनेहरुको जमात बाक्लो थियो । जसमा भाई गुरुङको “पहिलो नजर” नपर्ने कुरै थिएन । ५० को दशकमा ब्याण्डहरुको राजधानीका रुपमा पोखरालाई परिचित गरिन्थ्यो । भाई गुरुङ त्यस्ता बेला उदाए जतिबेला यहाँबाट स्थापित ब्याण्ड नेपथ्य, कन्दरा, देउराली, लेकालीको राम्रै प्रभाव थियो ।
उसो त भाई गुरुङ रहरले संगीतमा आएका हुन् । उनको रहर सबैका लागि अमृत हुन्छ भन्ने कुरा उनी आफैलाई पनि सायद पत्तो थिएन । गीत चल्यो र सबैको मुखमा झुण्डियो । पेशाले व्यवसायी समेत रहेका भाई गुरुङ यतिबेला फेरि सोहि गीत मार्फत सार्वजनिक भएका छन् । पहिलो नजरलाई रिमेक गरेका छन् । रिएरेण्ज गर्दै म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् ।
भाई गुरुङले सार्वजनिक गरेको म्युजिक भिडियोलाई रुचाउनेहरुको जमात पनि बढ्दै गएको छ । हिजो अडियो मन पराउनेहरुले आज भिडियोलाई समेत मन पराउन थालेका छन् । रोहन नेपालीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई भाई गुरुङले आफ्नै युट्युब मार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक भएको तीन दिनमै उक्त म्युजिक भिडियोलाई मन पराउने हरुको संख्या एक लाख २९ हजार भन्दा बढी छ ।
मिलन शंकरको छायाँकनमा बनेको गीतमा सागर थापा र कृष्टिना थापाको अभिनय छ । पोखराका विभिन्न स्थानमा छायाँकन गरिएको गीतबाट भाई गुरुङ आशावादी देखिन्छन् । भन्छन्,‘२२ वर्ष अघिको माया फेरि पाउनेमा विश्वस्त छु ।’
पछिल्लो समय चलेका पुराना गीतलाई रिमेक गर्ने प्रचलन बढ्दो भएकाले आफुले पनि पहिलो नजरलाई रिमेक गरेको भनाई उनको छ । गोपाल रसाइलीको संगीत संयोजनमा निर्माण भएको गीतबाट राम्रै प्रतिक्रिया आइरहेको उनी बताउँछन् ।
भाई गुरुङको गीतको विषयमा बोल्दै पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा कन्दरा ब्याण्डका ड्रमर एवम् कुशल संगीतकार सुनील थापाले भाई गुरुङले समयानुसार आफुलाई परिवर्तन गर्न खोजेको बताए । उनले २२ वर्ष पुरानो गीतलाई अहिलेको नयाँ जेनेरेशनले समेत उत्तिकै मन पराउने बताए । इमानदारिता र व्यवसायिक जिम्मेबारीमा कमी हुँदा पोखराको संगीत सुस्ताएको भनाई उनको छ । पोखरेली संगीतका विषयमा अन्तरक्रिया गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । डिजीटल मिडियामा पोखरा पछाडी पर्दा यहाँबाट बनेका संगीत माथि उठ्न नसकेको तर्क उनको छ । तर पछिल्लो समय भने केही कलाकारको गीत निर्माण गर्ने निरन्तरता प्रति भने उनी सन्तुष्ट देखिन्छन् । पुराना गीतलाई रिमेक गर्दा सकरात्मक रुपमा बुझ्न उनको आग्रह छ ।
गायक विनोद बानियाँले पहिलो नजरले ५० को दशकको पोखरेली संगीतको चामलाई ब्यँुताएको बताए । उनले मेकिङको हिसाबले भिडियो पनि उत्कृष्ट बनेको अभिव्यक्ति दिए । गायन,संगीत, निर्देशन सबै पक्षबाट गीतले सफलता पाउनेमा उनी विश्वस्त छन् । संगीतमा समन्वय पाटो कमजोर हुँदा पोखरेली संगीत उठ्न नसकेको तर्क उनको छ । पोखरामा संगीत क्षेत्रमा लागेका हरेकले एकले अर्कोसँग हातेमालो नगरेसम्म गीतसंगीत माथि उठ्न नसक्ने उनी बताउँछन् ।
रोहन नेपाली पोखराका निर्देशकलाई पत्याएको खण्डमा आउटपुट पनि राम्रो दिन सक्ने दाबी गर्छन् । ‘गीतको म्युजिक भिडियो निर्माणका लागि काठमाडौं नै जानुपर्छ भन्ने सोच अब फालौं’, उनी भन्छन्, ‘राम्रा सिर्जना र लगानी भएमा काठमाडौं भन्दा राम्रो आउटपुट हामीले पनि दिन सक्छौं ।’ भाई गुरुङको म्युजिक भिडियो निर्देशन गर्न पाउँदा उनी खुशी देखिन्छन् ।
चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीका सह—सचिव एवम् कलाकार रेम विकले पोखराको संगीत क्षेत्र पछिल्लो समय तातिरहेको बताए । जसको निरन्तरताको कामना उनले गरेका छन् । पोखरेली संगीतलाई माथि उठाउन पत्रकारिता क्षेत्रबाट समेत सहयोग मिल्ने भनाई उनको छ ।