पोखरा, वैशाख २ गते
पोखराको फेवातालमा जलजन्य विपत उद्घारका लागि खटिएका नेपाली सेनाका जवानहरु बस्नका लागि नेपाली सेनाले सेट घर निर्माण कार्य सुरु गरको छ । मध्य कमाण्ड हेड क्वाटरका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले उक्त घरको शिल्यान्यास गर्नुभएको छ । सो अवसरमा उपरथी श्रेष्ठले पोख्रेली र पोखरा घुम्न आउने पर्यटकहरुको आवश्यकता र चासोलाई मध्यनजर गरी सो घर निर्माण अनिवार्य भएको बताउनुभयो ।
निर्माणाधिन सेट घर रत्न मन्दिर परिसर र बाराही घाट नजिक रहेको छ । करिब ३२ लाखको लागत अनुमान गरिए पनि नेपाली सेनाले श्रमदानले आधा रकम कम हुनेछ । घर निर्माणका लागि कुनै लिखित बजेट नभए पनि विभिन्न संघ संस्थाले केही सहयोग गर्ने भएका छन् । जसमा होङ्सी सिमेन्टले ३ सय बोरा सिमेन्ट सहयोग गरिसकेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगर, कास्की जिल्ला हार्डवयर एसोसियसन लगायतले सहयोगका लागि प्रतिबद्घता जनाएका छन् ।
फेवातालमा घुम्न आउने पर्यटक र स्थानीयहरुको तालमाथि हुनसक्ने संभावित दुर्घटना न्यूनीकरण गर्न नेपाली सेनाले उद्घार टोलीलाई ताल किनारमा राख्दै आएको छ । त्यस्तो टोली हालसम्म पनि पालको भरमा बसी जोखिम मोलेर सेवामा खट्दै आएको छ ।
गत चैत ८ गते पोखरा घुम्न आएका २३ जना पर्यटक फेवातालमा आएको छालका कारण तालमा फँसेका थिए । दुर्घटना हुँदै गर्दा नेपाली सेनाको उद्घार टोली उनीहरुलाई सकुशल उद्घार गर्न सफल भएको थियो । कोभिडभन्दा अघिको तथ्याङ्क हेर्दा वार्षिक ५० जनाभन्दा बढी मानिसहरु फेवातालमा डुबेको अवस्थाबाट उद्घार गर्दै आएको मध्य कमाण्डका सूचना अधिकृत प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो
।