Home » लागुऔषध प्रयोगकर्तालाई अपराधी नभै बिरामीको रुपमा हेर

लागुऔषध प्रयोगकर्तालाई अपराधी नभै बिरामीको रुपमा हेर

by Pokhara City

लागुऔषध प्रयोगकर्तालाई अपराधी नभै बिरामीको रुपमा हेर लागु औषध ऐन समयसापेक्ष बनाऊ
पोखरा, १३ वैशाख

लागुऔषध प्रयोगकर्तालाई अपराधीको रुपमा नभइ बिमारीको रुपमा हेर्नुपर्ने पोखरामा मंगलबार आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । लागुऔषध प्रयोगकर्ता बिरामी जस्तै रहेकाले उनीहरुलाई सहयोग गरी समाजमा घुलमिल हुने वातावरण सिर्जना गर्न समेत उनीहरुको माग थियो ।
रिकभरिङ नेपालले आयोजना गरेको मिडिया क्याम्पेनिङ एण्ड एड्भोकेसी अन ल रिफम विषयक कार्यक्रमका वक्ताले नेपाल ड्रग ऐन, २०३५ समयसापेक्ष बनाउन माग गरे । करिब ४३ वर्षअघि बनेको सो ऐन हालसम्म पनि कार्यान्वयनमा रहेकाले समयसापेक्ष संशोधन हुनुपर्ने उनीहरुको माग छ ।


नेपालले विश्वका विभिन्न फोरममा लागुऔषधसम्बन्धी सन्धि, सम्झौतामा हस्ताक्षरसहित विभिन्न घोषणापत्र गरे पनि नेपालको ४३ वर्षअघिको ऐन संशोधन नगरेको उनीहरुको भनाइ थियो ।
रिकभरिङ नेपालका गण्डकी अध्यक्ष विकास बरुवालले नेपाल सरकारले राष्ट्रिय अन्तर्राष्टिय लागुऔषधसम्बन्धी विभिन्न घोषणापत्रमा हस्ताक्षर गरे पनि देशमा भने पुरानै ऐन कार्यान्वयन रहेको बताए । समयसापेक्ष ऐन संशोधन नहुँदा लागुऔषध प्रयोगकर्तालाई प्रहरी प्रशासनले निर्ममतापूर्वक ज्यादति गरेको उनको भनाइ छ । लागुऔषध प्रयोग गर्नु राम्रो काम हैन तर प्रयोग गर्नेहरुलाई समाजले राम्रो नजरले हेरी समाजमा घुलमिल हुने वातावरण सिर्जना गरी सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने गरी कानुन बनाउन उनको माग थियो । यसका लागि आफूहरुको जस्तै विभिन्न संघसंस्था सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै कुनै पनि ऐन कानुन बनाउँदा सरोकारवालालाई समेत सहभागी गराउन उनको आग्रह थियो ।
समाजमा हाल गाँजा र रक्सीलाई सामान्यरुपमा लिने गरिएका कारण धेरै समस्या आएको भनाइ समेत उनको थियो । गाँजा र रक्सी लगातार एक महिना सेवन गर्नेको निर्णय क्षमतामा ह्रास आउने उनको भनाइ थियो । हामी कुनै पनि कुरालाई सुरुमा सामान्य रुपमा लिन्छौं, जब गम्भीर अवस्थामा पुग्दै तब मात्र उपचारको खोजीमा लाग्ने गरेको भन्दै उनले गम्भीर अवस्थामा पुग्ने वातावरण सुजना हुन नदिन सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिए । निर्णय क्षमतामा कम हुनु भनेको कुलतमा फस्ने, आत्महत्या गर्ने जस्ता घट्ना बढ्नु रहेको उनले बताए ।
रिकभरिङ नेपालका कार्यक्रम संयोजक देवेन्द्र गुरुङले नेपालमा प्रत्येक वर्ष ११.३६ प्रतिशतका दरले लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको जानकारी दिए । ०६३ सालमा ४६ हजार, ६९ सालमा ९१ हजार र ०७६ सालमा लागु औषध प्रयोगकर्ताको संख्या एक लाख ३० हजार पुगेको उनको भनाइ थियो । जसमा गाँजाजन्य लागुऔषध प्रयोग गर्नेको संख्या ८४ प्रतिशत रहेको बताए । लागुऔषध प्रयोगकर्तालाई दण्डको रुपमा काराबास सजायको विकल्पमा सुधारगृहमा राख्नुपर्ने माग उनको छ । लागुऔषध प्रयोगकर्तालाई प्रहरीले अप्ठ्यारोमा पार्ने, गालीगलौच गर्ने, कुटपिट गर्ने गरेको उनीहरुले बताउँदै नेपालको फौजदारी न्याय प्रणाली नै फेर्नुपर्ने उनले बताए । विश्वव्यापीरुपमा लागुऔषध सेवनकर्तालाई ‘प्रोबेसन’ लगायत सुविधा दिइने गरेको र सुधारगृहमा राखेर उनीहरुलाई सामान्य जीवनमा फर्काइने अभ्यास छ ।
कम्युनिटी सपोर्ट ग्रुप (सिएसजी) का कार्यक्रम अधिकृत सन्तोष गुरुङले लागुऔषध प्रयोगकर्ताहरु भनेका आज प्रयोग गर्छन् तर भोलि समाजमा अभियन्ता बनेर आएका धेरै उदाहरण रहेकाले उनीहरुलाई प्रहरीले ठूलो अपराधीको रुपमा नभै सामान्य जीवनमा फर्किने वातावरण सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए । लागुऔषध प्रयोग गर्दा हुने असावधानीले एचआइभी संक्रमण बढ्दै गएको उनले जानकारी दिए । अन्य दीर्घरोगीलाई जस्तै एचआइभी संक्रमितलाई मासिक पाँच हजारको व्यवस्था गर्न, नागरिकता नभएकाले समेत उपचार सेवा पाउनुपर्ने, निशुल्क शिक्षा र स्वास्थ्यको सुनिश्चितता, एचआइभी विधेयक अविलम्ब पारित गर्नुपर्ने, स्थानीय सरकारले आ आफनो एचआईभी नीति तर्जुमा गर्नुपर्ने माग उनको थियो । किशोरावस्थामा हुँदा नयाँ कुरा चाख्ने, देखासिकी गर्न मन लाग्ने हुँदा उनीहरु सहजै लागुऔषध दुव्र्यसनमा फस्न सक्ने भएकोले आवश्यक सल्लाहसुझाव अपरिहार्य हुने बताए ।
राष्ट्रिय एचआइभी महासंघका केन्द्रीय सदस्य समेत रहेका पूर्व लागुऔषध प्रयोगकर्ता एवं एचआइभी संक्रमित मनोेज गुरुङले लागुपदार्थ प्रयोगकर्ताको संख्या शून्यमा कहिल्यै नझर्ने दाबी गरे । प्रयोगकर्ताको संख्या घट्दै जानुको साटो स्थान्तरण भएर आएको भन्दै हिजो गाँजा थियो आज सुईमार्पmत प्रयोग गर्नेहरु रहेको बताए । उनीहरुलाई राज्यले उचित व्यवस्थापन गदै संख्या न्युनिकरण गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए । नीति नियम बनाउँदा अनुभव गरेकाहरुलाई समावेश गरी अघि बढ्दा कार्यान्वयन गर्न सजिलो हुने उनको भनाइ थियो । असुरक्षित तरिकाले लागुऔषध प्रयोग गरेका कारण आफू संक्रमित हुन पुगेको उनले बताए । संक्रमितलाई समयमै उचित परामर्श आवश्यक रहेकोमा उनले जोड दिएका थिए ।
गोरेटो नेपालका अध्यक्ष विमला गुरुङले हाल रक्सी र गाँजा सेवन गर्ने महिलाहरुको संख्या बढेको जानकारी दिइन् । घरमा सौतेनी आमा, आमाले सानोमा छाडेर गएका र सानै घर छाडेर आएकाहरु बढी मात्रामा रक्सी र गाँजासेवनसँगै यौनकर्ममा लागेको उनले बताइन् । घर छाडेर आएकाहरुका लागि वैकल्पिक आयआर्जनको बाटो नहुँदा उनीहरु यौनकर्ममा लागेको भनाइ उनको थियो । महिला यौनकर्मीलाई नागरिकता, विमा, स्वास्थ्य उपचार, यौनकर्मी महिलाको कानुन निर्माणको हरेक तहमा पहँुचको सुनिश्चितता गर्न उनको माग थियो ।
नौलो बिहानीका रजनी खड्काले रोजगारी नपाएका कारण यौनकर्मीहरुको संख्या बढ्दै गएको बताइन् । हिंसाका कारण समेत यौनकर्मीहरुको संख्या बढेकाले जबसम्म समाजलाई हिंसा मुक्त र स्वस्थ समाज निर्माण हँुदैन, तबसम्म यौनकर्मीको संख्या नघट्ने उनको भनाइ थियो ।

You may also like