Home » तनहुँ तमु समाजले २९ औं स्थापना मनायो

तनहुँ तमु समाजले २९ औं स्थापना मनायो

by Pokhara City

पोखरा, १३ बैशाख

तनहुँ तमु समाज पोखराले २९ औं स्थापना दिवस मनाएको छ। समाजघरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान,जेष्ठ नागरिक सम्मान, उत्कृष्ठ बाबा आमा, एवम पुर्वसचिवलाई सम्मान, भित्तेपात्रो सार्वजनिक, साँस्कृतिक कार्यक्रम लगायत वार्षिक भोज गरी स्थापना दिवस मनाएको हो।

कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै तनहुँ तमु समाज हरेक विधामा उत्कृष्ठता रहेको भन्दै प्रसंशा गर्नुभयो। उहाँले समाजका सदस्यहरुको एकताकै कारणवर्षेनि उपलब्धि हासिल गर्दै समाज अग्रगतिमा लम्किरहेको बताउनुहुदै समग्र तमुहरुको एकतामा जोड दिनुभयो।

समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक सु.मे.समसेर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै समाज स्थापनादेखि वर्तमानसम्म हासिल गरेको उपलब्धिहरुको बारेमा जानकारी गराउनुभएको थियो।

यसरी नै समाजका सल्लाहकार एवम तमु धिं नेपालका सहसचिव गोपाल गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तनहुँ जिल्लाको बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा पुर्व अध्यक्ष एवम उत्कृष्ठ बाबा आमा छनौट समितिका संयोजक अ.सु.मे.प्रेमचन्द गुरुङले शुभकामना सहित छनौटका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो भने कमानसिंह गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा समाजका पुर्व अध्यक्ष मिनबहादुर गुरुङको योगदानका लागि सम्मान, स्व.डब्लुओटु रुद्रबहादुर गुरुङ उत्कृष्ट बाबा आमा अक्षयकोषबाट उत्कृष्ठ बाबा आइतबहादुर गुरुङ र उत्कृष्ठ आमाबाट कल्पना गुरुङलाई सम्मान गरिएको थियो। यसरी नै समाजका ८० वर्षभन्दा जेष्ठ नागरिकहरुलाई सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै सम्मान गरिएको थियो।

यसरी नै तनहु तमु समाजको वार्षिक गतिविधि समेटिएको भित्तेपात्रो प्रमुख अतिथि हुमबहादुर गुरुङ,समाजका पुर्व अध्यक्ष एवम सल्लाहकार संयोजक सु.मे.समसेर गुरुङ र समाजका अध्यक्ष सोमबहादुर गुरुङले सार्वजनिक गर्नुभएको थियो।

समाजका अध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिर्थबहादुर गुरुङले स्वागत र सचिव लेखबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रमका समाजका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए। तनहु तमु समाज २०५१ साल बैशाख १२ गते क्या.नरबहादुर गुरुङको अध्यक्षतामा गठन गरिएको थियो।

You may also like