पोखरा।
सरकारले घोषणा गरेको वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा यतिबेला पोखराका स्थानीय तहहरुमा चुनावी माहौल बढ्न थालेको छ । चुनावको मिती नजिकिएसँगै उम्मेद्वारहरु प्रचारप्रसार, घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त हुन थालेका छन्।
यसैक्रममा चुनावी अभियानलाई अगाडि बढाउन नेकपा एमाले वडा नं -१५ ले पूर्ण बैठकको आयोजना गरेको छ। बैठकले विशेष गरी टोल कमिटिका संयोजकहरु लगायत सम्पूर्ण भातृसंगठनका संयोजकहरुलाई बोलाएर आगामी शनिबार अर्थात् बैशाख १७ गते बिहान बृहत र्यालीको आयोजना गर्ने निर्णय गरेको छ ।
वडा नं -१५ को मूख्य सडकलाई लक्षित गर्दै र्यालीमा बिभिन्न भातृसंगठनहरु युवा संघ, अखिल नेपाल महिला संघ, भूमिहीन, राष्ट्रिय भूमिहीन संघ लगायत टोल कमिटिहरुको सहभागिता रहने जनाइएको छ। र्यालीमा झन्डै ४ सय देखि ५ सयसम्मको सहभागीता रहने अनुमान बैठकको छ। उम्मेद्वारहरुको टोली सहित र्याली पार्टी कार्यालयबाट ठीक साढे सात बजे शुरु हुनेछ।
यस्तै बैठकले शुक्रबार बिहान ७ बजेबाट घरदैलो कार्यक्रमलाई पनि तिब्रताका अगाडि बढाउने निर्णय गरेको छ।
previous post