Home » गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं

गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं

by Pokhara City

पोखरा, १९ वैशाख

स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे ।

भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले यस्तो दाबी गरेका हुन् । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो ।

उनले आफ्नो राजनीतिक यात्रा यहीबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन गठबन्धन गर्न बाध्य भएको सुनाए ।

२०४८ देखि कुरा गरेको तर पूरा नभएको विकासलाई अब मुर्तरुप दिने अवस्था आएको जनाए । देशको सार्वभौमसत्ता जोगाउनका लागि हुँदा खादाको पार्टीलाई छाडेर नयाँ पार्टीको स्थापना गर्नुपरेको उनको तर्क छ ।

पोखरा ३३ मा औद्योगिक क्षेत्र बनाउने सोच बनाए पनि स्थानीयको सरसल्लाह बिना केही गर्न नसकिने उनी बताउँछन् । आचार्यले अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन महानगरमा आफ्नै व्यक्ति आउँदा फाइदा हुने बताए । ५ वर्ष कुनै गुनासो नहुने गरी काम गर्ने र वडालाई नमुना बनाउने उनले प्रतिवद्धता गरे ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले लोकतन्त्रको अस्तित्व जोगाउनका लागि गठबन्धन गरिएको बताइन् । पोखार ३३ मा गठबन्धनले जितिसकेको उनको भनाइ छ । यो महानगरको दुर्गम क्षेत्र रहेको बताउँदै उनले निर्वाचित भए सबल शिक्षा, पूर्वाधार विकासमा ध्यान दिने उल्लेख गरिन् ।

पोखरा ३३ का वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले कानुन जोगाउनका लागि गठबन्धन गरिएको बताए । उनले हिजो एमालेको सरकारले पोखरा ३३ को विकासमा कुठराघात गरेको उनको आरोप छ । अधिकारीले एमालेले पैसा खर्च गरेर मत किन्ने दुस्साहस गरेको दाबी गरे । हिजो महानगरको नेतृत्व एमालेले लिँदा गफबाहेक केही नगरेको उनी बताउँछन् ।

पोखरा ३३ तल्लो पुणिटारमा आयोजना गरिएको घरदैलो तथा परिचयात्मक कार्यक्रममा पोखरा ३३ का वडा सदस्यका उम्मेदवारहरु प्रकाश कार्की, दुर्गा केसी, श्रीदत्त बराल, सृष्टि विकसहित गठबन्धनका नेता, कार्यकर्ता सहभागी थिए ।

You may also like