Home » एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन, गाउँका वनमा जंगल सफारी

एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन, गाउँका वनमा जंगल सफारी

by Pokhara City

पोखरा ।
नेकपा (एमाले) मादी गाउँपालिका, कास्कीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएर एमाले पालिका कमिटीले चुनाव जितेमा पाँच वर्षभित्र गर्ने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो । मादीमा एमालेबाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपप्रमुखमा कल्पना गुरुङ उम्मेद्वार छन् ।

सम्भाव्यता अध्ययन भइसकेको भुलकुच्चा–कोरीको केबलकार निर्माण कार्य निजी क्षेत्रसँग मिलेर अघि बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ । कपुचे–कोरी केबलकार, कोरी–माद्रे हिमाल–पिसाङ केबलकार र वार्चोक लम्तरी केबलकार बनाउन सम्भाव्यता अध्ययन गरिने घोषणा एमालेले गरेको छ । ताङतिङ पोलकोडाँडा–सिक्लेस पार्चेडाँडासम्म रोपवे सम्भाव्यता अध्ययन गरिने पत्रमा उल्लेख छ ।

मादीलाई आवश्यक पूर्वाधारका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने एमालेबाट अध्यक्ष उम्मेद्वार रहेका महेन्द्रले बताउँछन् । संघ, प्रदेश र पालिकामा नेकपा एमालेका विकास योजना र जनमैत्री काम देखेर अरु पार्टीका नेता–कार्यकर्ता पनि एमाले आउन चाहिरहेको उनको भनाइ छ । ‘मादीमा तीन दिनसम्म घरदैलो गर्दा कांग्रेस, माओवादीका साथी हाम्रोमा आउनुभयो,’ उनले भने, ‘ती पार्टीमा अब नेतामात्रै रहन्छन् । अरु पार्टीमा भएका कति साथीले नेकपा एमाले खोजेका छन् । घर–घरले नेकपा एमाले खोजेको छ ।’

मध्यपहाडी लोकमार्गको भैंसे, बेत्यनी, ज्याउँदु, मेलबोट, पानीघाट हुँदै पोखरा २० मौजा जोड्ने सडक, सिक्लेस–पोखरा सडकखण्डको बाँकी खण्डसहित पालिकाका मुख्य सडक कालोपत्रे गर्ने घोषणापत्रमा उल्लेख छ । १८ ठाउँमा मोटरेबल पुल र कल्भट निर्माण र चार वटा झोलुंगे पुल बनाउन प्रतिबद्धता एमालेको छ ।

एक घर, एक धारा अभियानलाई निरन्तरता दिने, हरेक सडक बाटो र वस्तीको ढल उचित निकास गर्ने घोषणापत्रमा उल्लेख छ । विद्युत नपुगेका टोल र वस्तीमा विद्युत सेवा पु¥याइ ‘उज्यालो पालिका’ बनाउने घोषणा गरिएको छ ।

मादी ३ याङ्जाकोटमा रहेको गाउँपालिका कार्यालय सार्ने निर्णयविरुद्ध स्थानीय अदालत पुगेका थिए । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमालेले गाउँपालिका केन्द्र निर्धारण गरेर प्रशासनीक भवन बनाउने प्रतिबद्धता जनाएको छ । बहुउद्देशीय भवन, गाउँपालिकाको आफ्नै अतिथि भवन निर्माण र प्रहरी भवन निर्माण गरिने एमालेले बताएको छ । ‘पालिकास्तरमा एक प्रहरी भवन निर्माण गर्नुका साथै भगवतीटार, छाचोक र सिक्लेसमा प्रहरी भवन निर्माण गरिने छ,’ घोषणपत्रमा भनिएको छ, ‘भूकम्पबाट क्षति भई निर्माण सम्पन्न हुन बाँकी संरचनाको पुनःनिर्माण गरिने छ ।’

मोबाइल टावर बनाउने, रेडियो खोल्ने
गाउँपालिकाका पर्यटकीय गन्तव्य कपुचे हिमताल क्षेत्रमा मोबाइल टावर टिप्दैन । एमालेले त्यो क्षेत्रमा पनि सेवा पुग्ने र नेटवर्कविहीन हुनुपर्ने अवस्थालाई समाधान गर्ने घोषणा गरेको छ । चुनाव जितेमा पालिकाका तीन ठाउँ मादी १० पुरानो भाचोक, कोरी र वडा नम्बर १२ हाँडीखोलामा दुरसञ्चार टावर निर्माण गर्ने एमालेको प्रतिबद्धता छ ।

गाउँपालिकाका १२ वटै वडामा दिगो र सर्वसुलभ इन्टरनेट व्यवस्था गर्ने एमालेको वाचा छ । एमालेले रेडियो चलाउने पनि घोषणा गरेको छ । पालिकास्तरीय एक सय मेगावट क्षमताको स्थानीय रेडियो निर्माण र सञ्चालन गर्ने एमालेले प्रतिबद्धता जनाएको छ ।

जमिन चक्लाबन्दी र उत्पादकत्व वृद्धिलाई प्राथमिकता दिने, उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने एमालेको घोषणा छ । कृषि बिमा, पशुपंक्षी बिमाको व्यवस्था गर्ने एमालेले बताएको छ । मासु, अन्डा र दुधमा आत्मनिर्भर बनाउने र निर्यात केन्द्रीत हुने एमालेको घोषणापत्रमा उल्लेख छ ।
पालिकाभित्रका पर्यटन मार्ग र गन्तव्यलाई गुगल अर्थमा सूचिकृत गर्ने र पालिकास्तरीय पर्यटन प्रहरीको व्यवस्था गर्ने योजना एमालेको छ । होमस्टे, होटल सञ्चालन र सहासिक खेलकुद पूर्वाधार निर्माण र खेलकुद आयोजना गरेर पर्यटन क्षेत्र विकास गर्ने योजना छ ।

मादीभित्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले पर्यटकसँग लिने शुल्कको ७० प्रतिशत गाउँपालिकाको राजस्वको दायरामा ल्याउन पहल गर्ने एमालेको योजना छ । ‘अन्नपूर्ण संरक्षण क्षेत्रको संरक्षणको व्यवस्थापन पालिकाअन्तर्गत ल्याउनुका साथै संरक्षण क्षेत्रभित्र जंगल सफारीको व्यवस्था गरी पर्यटन प्रवद्र्धन गरिने छ,’ घोषणापत्रमा उल्लेख छ । जैविक विविधता अध्ययन÷अनुसन्धान गर्न अनुसन्धान केन्द्र स्थापना, प्याराग्लाइडिङ, जिपलाइन, बञ्जि, क्यानोनिङ, रकक्लाइम्बिङ, होटल, रिसोर्ट, पर्यटन पार्क निर्माण गर्ने एमालेको प्रतिबद्धता छ । त्यसमा निजी क्षेत्रको सहयोग लिइने छ ।

मादी नदी जलाधार क्षेत्रको संरक्षण गर्न विस्तृत योजना बनाउने, मौसम र प्राकृतिक प्रकोप पूर्वानुमान केन्द्र खोल्ने, नदीखोलामा तटबन्ध बनाउने, पालिकामा वारुणयन्त्र व्यवस्था गर्ने, अपांगमैत्री पूर्वाधार बनाउने एमालेले जनाएको छ । त्यस्तै पालिकाभित्रका गाउँमा एक गाउँ एक हेलिप्याड निर्माण गरिने एमालेले जनाएको छ ।

एमालेले चार दिनदेखि मादीमा घरदैलो गर्दै जनतालाई आफ्ना योजना सुनाइरहेको छ । सोमबारसम्म मादी ३, ४, ८, ९ र १२ मा घरदैलो गरिएको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए ।

मुख्य बुँदा
केबलकार र रोपवे चलाउन सम्भाव्यता अध्ययन
उत्पादनमा आधारित अनुदान
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र जंगल सफारीको व्यवस्था
तीन ठाउँमा मोबाइल टावर, पालिकास्तरीय रेडियो खोल्ने
एक घर, एक धारा अभियानलाई निरन्तरता
१८ ठाउँमा मोटरेबल पुल र कल्भर्ट, चार झोलुंगे पुल निर्माण

You may also like