Home » पोखरा २३ मा पिच सडक नदेखेपछि आचार्यले भने ः पिच गर्ने जिम्मा गठबन्धनले लिन्छ

पोखरा २३ मा पिच सडक नदेखेपछि आचार्यले भने ः पिच गर्ने जिम्मा गठबन्धनले लिन्छ

by Pokhara City

पोखरा, २१ बैशाख ।

पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक पिच गर्ने जिम्मा गठबन्धनले लिने बताएका छन् । पोखरा–२३ मा बुधबार घरदैलो गर्दै गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले पोखरा–२३ का अधिकांश ठाउँमा पिच सडक नदेखेपछि भने,‘यहाँ पछिल्लो पाँच वर्षमा पिच सडक समेत बन्नेछ । यो त बत्ती मुनिको अँध्यारोजस्तै भयो । अब हामीलाई भोट दिनुहोस् यहाँका बाटामा पिच गर्ने जिम्मा गठबन्धनले लिन्छ ।’

पोखरा महानगर २३ मा अहिलेसम्म ३ सय मिटरसम्म मात्र पिच बाटो छ । महानगरकै वडामा पिच बाटो नहुनु दुर्भाग्य रहेको आचार्यले बताए । पूर्वाधार विकास गर्न पनि पोखरा महानगरमा गठबन्धनको नेतृत्व आवश्यक रहेको उनको भनाई थियो । मेयर, उपमेयरदेखि प्रदेश र केन्द्र सरकारसम्मै एमालेको नेतृत्वको सरकार हुँदा पनि पोखरा महानगरको वडामा ५ वर्षको कार्यकालमा ३ सय मिटर सडक पिच हुनु जस्तो भेदभाव कही नभएको आचार्यको दाबी थियो ।

साविकको चापाकोट गाविस जोडेर बनाईएको पोखरा–२३ लाई ग्रामीण भेग भएकै कारण न्यूरोडमा बसेर कार्यालय चलाएका मेयर उपमेयरको आँखामा नपरेको आचार्यले आरोप लगाए । नेकपा एमालेको नेतृत्वले अहिलेसम्म गरेको उपेक्षाको बदला वडा नम्बर–२३ का मतदाताले भोटमार्फत दिनुपर्ने उनले बताए । ‘अहिलेसम्म तपाइहरुलाई नेकपा एमालेको सरकारले उपेक्षा गरिरह्यो,’ उनले भने, ‘अब उनीहरुलाई बदला लिने समय आएको छ, यो पटक मेयरमा कलम र उपमेयरमा रुखमा भोट दिनुहोस हामी यहाँको विकासको जिम्मा लिन्छौं ।’

पोखरा २३ मा पनि गठबन्धन नै रहेको छ । नेपाली कांग्रेसबाट अध्यक्षमा रामकाजी गुरुङ, सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट गोपाल पराजुली, धनबहादुर गुरुङ, महिला सदस्य इन्दिरा लामिछाने र माओवादी केन्द्रबाट दलित महिला सदस्य देवकी सुनार छन् ।

स्थानीय विष्णुप्रसाद दाहालले यसअघि जिताएको नेतृत्वले काम नगरेकाले अब विकल्प खोज्ने बताए । पोखरा–२३ मा रहेको खहरे खोला र लौरुक खोलाको सिल्टेसन ड्यामका कारण जोखिम बढेको भन्दै यसको ब्यबस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । ‘हामी गठबन्धनलाई सघाउन तयार छौं तर हाम्रो मागपनि पूरा गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले नेकपा एमालेका नेतृतत्वले आफ्नो वडा र टोल मात्र हेरेर विकास गरेको आरोप लगाईन् । यो पोखरा २३ को बाटो गठबन्धनलाई खोजिरहेको उनले बताईन् । बाटो बनाउने काम र स्तरउन्नती गर्ने काम आफूहरुको नेतृत्वले गर्ने उनले प्रतिवद्धता जनाईन् । भोट हाल्ने एक दिन आफूहरुका लागि छुट्याए अवको पाँचबर्ष जनताका लागि छुट्याउने उनको वाचा थियो ।

बुधबार गठबन्धनको मेयर र उपमेयरका साझा उम्मेदवारहरुको चुनावी घरदैलो कार्यक्रम पोखरा २३, २४, १८ र ५ नम्वर वडामा रहेको छ ।

You may also like