पोखरा, २१ वैशाख ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा नं. ५ ले ‘हाम्रो वडा, हाम्रो गौरव’ भन्ने योजनालाई अघि सारेको छ । वडाको समग्र विकासको योजनासहित स्थानीय चुनावमा एमाले पोखरा ५ का उमेद्वारले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै गौरव गर्न लायकको वडा बनाउने घोषणा गरेका हुन् ।
उनीहरुले सडक निर्माण, मर्मत सम्भार, भौतिक पूर्वाधारको विकास, ज्येष्ठ नागरिक महिला बालबालिका उत्पीडित समूह तथा युवाका क्षेत्रका विशेष योजना, शिक्षा स्वास्थ्य साहित्य खेलकुद पर्यटन र कृषिलाई टेवा पुग्ने कार्य योजना, वातावरण प्राकृतिक तथा साँस्कृतिक सम्पदाको संरक्षण, स्थानीय कृषि उत्पादनमा बृद्धि, सुन्दर बस्ती विकासका योजना, सामाजिक सुरक्षा र सुशासन लगायतका योजना प्रतिवद्धता पत्रमार्फत् गौरव गर्न लायकको वडा बनाउने घोषणा गरेका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फबाट वडा नं. ५ मा वडाध्यक्षमा विष्णुप्रसाद बराल, महिला सदस्य कल्पना भुवाजी क्षेत्री, दलित महिला सदस्य हरिमाया विक, खुल्ला सदस्यतर्फ गोविन्दप्रसाद बराल र मणिराम बरालले उम्मेदवार दिएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा यस वडाको सबै पदमा नेकपा एमालेका उमेद्वारलाई वडावासीले विजयी गराएका थिए । यस पटकको निर्वाचनमा पनि वडावासीले एमालेका उम्मेदवारलाई माया तथा विश्वास गर्ने वडाध्यक्षका उम्मेदवार विष्णुप्रसाद बरालले बताए ।