लेखनाथ, वैशाख २१ ।
सर्वसम्मत उमेद्वार टुंग्याएर सबैभन्दा अगाडि घरदैलोमा निस्किएको नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २७ को घरदैलो अभियान सकिएको छ । वडा अध्यक्षका उमेद्वार सुर्यमणि लामिछाने, महिला सदस्य बुद्धिकुमारी थापा, दलित महिला सदस्य उमा परियार, खुल्ला सदस्य तारानाथ दवाडी र प्रकाश देवकोटा सहित एमालेका कार्यकर्ताले पहिलो चरणमा वडाभित्रका सबै घरदैलोमा पुगेका हुन् ।
उनीहरुले घरदैलोमा मत मात्रै मागेनन्, जनतासँग आगामी ५ वर्षभित्र गर्नुपर्ने कामको सुझाव समेत मागेका छन् । मतदाताले यस पटक आटिलो र जोश भएको युवालाई खोजेको भेटियो, युवाले गर्न सक्छ भन्दै कामको लामो सुझाव समेत दिएका छन् ।
मतदाताले कृषियोग्य जमिन प्लटिङ हुँदै घडेरीमा परिणत भएको भन्दे चिन्ता व्यक्त गरेका थिए । कृषि योग्य जमिन घडेरी बनाएर सकिएको तथा उब्जनी हुने जग्गाको योजना नहुँदा उत्पादन घट्दै गएको मतदाताको भनाई छ । बाँकी जग्गामा कृषि उत्पादन बढाउन, किसानलाई मल, बिऊ र कृषि औजार अनुदानमा दिने र त्यसको लेखा–जोखा राख्ने व्यवस्था मिलाउन अध्यक्ष पदका उमेद्वार सुर्यमणि लामिछानेलाई आग्रह गरे ।
जेष्ठ नागरिकले सामाजिक सुरक्षाको रकम लिन बैंकसम्म जान कठिनाई भएको भन्दै घर–घरमा वितरणको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए ।
विपन्न वर्गका नागरिकले सीप, तालिम र रोजगारीको ग्यारेण्टी गर्न एमालेका उमेद्वारलाई घरदैलोमा मतदाताले आग्रह गरेको निर्वाचन परिचालन कमिटीका संयोजक धमलाले बताएका छन् ।
वडामा धुलो बाटो कालोपत्रे गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, बिजयपुर सिंचाई प्रणालीलाई व्यवस्थित गर्ने प्रतिवद्धता मतदाताले खोजेका छन् ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्न बनेको चन्द्रकालिका मन्दिरको गुरुयोजना लागु गर्न, बडहरे गन्धर्व वस्तीलाई लक्षित गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्न समेत मतदाताले उमेद्वारलाई भनेका छन् ।
महागनरको वडा नं. २७ को कार्यालय मासिक ६० हजार भाडामा बसेको भन्दै साविक लेखनाथ नगरपालिका रहेको जग्गामा व्यवस्थित वडा कार्यालय बनाउन समेत वडावासीले सुझाव र प्रतिवद्धता खोजेका छन् ।
उमेद्वारलाई बगादी, गढुवा र नहर फोहर फाल्ने डम्पिङ साइड बनेको भन्दै त्यसलाई नियन्त्रण गरी पानीको प्रयोग गर्न मिल्ने बनाउन समेत सुझाव दिएका छन् । भित्री डाँडाको नाकदेखि साविक नगरपालिका भवन अगाडिसम्मको नहरको बाटोलाई सौन्दर्यकरण गरी व्यवस्थित गर्न समेत मतदाताले सुझाएका छन् ।