Home » पोखरा १ मा एमालेको चुनावी सरगर्मी

पोखरा १ मा एमालेको चुनावी सरगर्मी

by Pokhara City

पोखरा, २१ वैशाख ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिका वडा नं १ मा नेकपा एमालेका उमेद्वारले घरदैलो कार्यक्रममार्फत् आम मतदातालाई भेट्ने क्रम जारी राखेका छन् । यसैबीच बुधबार एमालेले उक्त वडाको सीमपानी टोलमा घरदैलोका साथै कोणसभाको आयोजना गरेको छ ।
घरदैलोका क्रममा पार्टीका तर्फबाट एमालेका उमेद्वारले आगामी निर्वाचनमा एमालेलाई भारी मतका साथ विजयी गराउन आग्रह गरेका छन् । विकास–निर्माणका विभिन्न योजना तथा मतदाताको समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको पार्टीका उमेद्वारको भनाई थियो । वडामा एमालेका उमेद्वारले घरदैलो कार्यक्रममा आज विभिन्न व्यक्तिबाट आर्शीवाद समेत लिएका छन् ।

कोणसभामा बोल्दै एमालेको प्रदेश कमिटी सचिवालय सदस्य माधव बास्तोलाले आम नागरिकको पार्टी एमाले भएको बताए । नेकपा एमालेले मात्र देशलाई निकास दिन सक्ने भएकाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई भोट दिन उनले आग्रह गरेका छन् ।

त्यस्तै वडा नं १ मा एमालेका तर्फबाट उमेद्वार रहेका साहारा प्रधानले वडाका वडावासी माझ नाला तथा पानीका बाँकी रहेका कामलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै पुरा हुन नसकेका अन्य योजना सम्पन्न गर्न आफूले प्राथमिकता दिने उनले बताए । घरदैलो कार्यक्रममा अध्यक्षका प्रत्यासी प्रधानले शान्ति टोल, कसरी बस्तीका सुकुम्वासी बस्तीमा करिब ८ सय मिटर बाटो ढलान गर्ने तथा नदीमा तटबन्धन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घरदैलो कार्यक्रममा वडामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित महिला सदस्यका उमेद्वार शोभा गुरुङ, दलित महिला सदस्यका उमेद्वार जुकमाया दमाई, खुल्ला सदस्यका उमेद्वार ठाकुरप्रसाद बगाले तथा जुमकाजी गुरुङको समेत सहभागी थियो । उक्त वडामा आगामी दिनमा समेत निर्वाचन लक्षित घरदैलो तथा विभिन्न कार्यक्रमको आयोजना निरन्तर रुपमा गरिने बताइएको छ ।

You may also like