पोखरा, २१ वैशाख ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख खगराज अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि एमालेलाई विजयी गराउन आग्रह गरेका छन् । नेकपा एमाले पोखरा ३१ को घरदैलो कार्यक्रममा सहभागी हुँदै नेता अधिकारीले विकास र समृद्धिको लागि एमालेको विकल्प नभएकोले सूर्य चिन्हमा मतदान गरि एमालेलाई अत्याधिक बहुमतले विजयी गराइदिन मतदातालाई आग्रह गरेका हुन् ।
एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको निरन्तरता नेकपा एमाले नै भएकोले सूर्य चिन्हमा मतदान गरि एकता अभियानलाई निरन्तरता दिन माओवादीलाई उनको आग्रह थियो ।
आफ्नो गृह वडा समेत रहेको पोखरा ३१ मा पुगेका अधिकारी चाहेर पनि धेरै वडाका लागि धेरै काम गर्न नसकिएको स्वीकार्दै शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता क्षेत्रमा सकारात्मक काम भएको बताए ।
कार्यक्रममा पोखरा ३१ का लागि एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बन्जराले घरदैलोको क्रममा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको र आफ्नो टिम जितको नजिक रहेको बताए । उनले भने ‘हामीहरू जहाँ जहाँ पुगेका छौं, त्यहाँ मतदाताको सकारात्मक र उर्जा सहितको प्रतिक्रिया पाइरहेका छौं । सबैको माया र साथले हाम्रो टिम जितको नजिक पुगेको महसुुस गरेका छौं ।’
आफ्नो जित सुनिश्चित रहेको भन्दै उनले आफुले पोखरा ३१ लाई समृद्धि बनाउने सपना देखेको र त्यो पूरा हुने दिशामा रहेको दावी गरेका छन् । उनले निर्वाचित भएपछि ५ बर्ष आफ्नो ध्यान वडाको शिक्षा, स्वास्थ्य, यातायात, संचार र रोजगारी जस्ता विकासका पुर्वाधार निर्माणमा केन्द्रित हुने बताए ।
नेकपा एमाले पोखरा ३१ ले पुरानो बिरासत जोगाउने लक्ष्य सहित बुधबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । बुधबार भञ्ज्याङ, साहुँकुना, सुन्दरीडाँडा, सिमलडाडा र उपल्लो गुरुङ गाउँ लगायतका टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको प्रचार–प्रसार समितिका संयोजक एवं वडा कमिटीका सचीव पुरुषोतम अधिकारीले जानकारी दिएका छन् ।
घरदैलो कार्यक्रममा चुनाव प्रचार–प्रसार कमिटी, पार्टी कमिटी, सल्लाहकार, बुद्धिजीवी युवा संघ, महिला समुह लगायतको उत्साहजनक सहभागिता अधिकारीले बताए । घरदैलो कार्यक्रम बिहीवार पनि जारी रहने प्रचारप्रसार समितिले जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं ३१ बाट नेकपा एमालेले अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यमा देवेन्द्र अधिकारी र बिनोदमणि लामिछाने, महिला सदस्यमा धनदेवी तिवारी र दलित महिला सदस्यमा तारा नेपालीलाई चुनावी मैदानमा उतारेको छ ।
पोखरा महानगरपालिका ३१ एमालेको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उक्त वडाका सबै पदमा नेकपा एमालेका उमेद्वार फराकिलो मतान्तरले विजयी भएको थिए ।
previous post