पोखरा, २१ वैशाख
पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले पोखरा २३ मा बनेका सिल्टेसन ड्याममा ठूलै रकम घोटला भएको आशंका गरेका छन् ।
पोखरा २३ को घरदैलो अभियान क्रममा स्थानीयसँग कुरा गर्दै उनले अनियमितता नभएको भए बनाएको २ वर्ष नबित्दै भत्कनु नपर्ने जनाए । गठबन्धनको नेतृत्वलाई जिताउन आग्रह गर्दै उनले आफूहरुले जितेमा ड्याम बनाउँदा भएको कमी, कमजोरी खोजी गर्ने उनले बताए ।
फेवा किनारमा बस्ने स्थानीयको सुरक्षामा ध्यान दिनेगरी योजना बनाउने उनको प्रतिवद्धता छ । एमालेबाट जनप्रतिनिधि बनेकाहरुले के कति कमी, कमजोरी वा घोटला गरेको छन् भनी खोज्न पनि आफुलाई भोट दिएर जिताउन वाडबासीलाई उनले अनुरोध गरे ।
उपमेयरका उम्मेदवार कोपिला रानाभाटले सर्वाेच्चको आदेश बमोजिम फेवाताल संरक्षणका लागि महागरको तर्फबाट आवश्यक कदम चल्ने प्रतिवद्धता गरिन् । सम्पदा संरक्षण, पर्यटन विकास र आधुनिक महानगरका संरचना निर्माणका लागि गठबन्धनको जित जरुरी भएको उनको भनाइ छ ।
फेवातालको जलाधार क्षेत्रबाट वर्षेनी ढुंगा र माटो सहितको लेदो बगेर तालमा मिसिँदा तालको आकार साँघुरो बन्दै गएको छ । ताल संरक्षणका लागि सर्वोच्च अदालतले तीन वटै सरकारका नाममा छुट्टाछुट्टै आदेश जारी गरेको थियो । सोही आदेशपछि पोखरा महानगरपालिकाले सरसफाइ र संरक्षण गर्न ड्याम बनाएको हो । ड्याम नेकपा एमालेका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ हुँदा बनेको हो ।
खड्का कृष्ण÷पि.के जेभी दाङले ७ करोड ८८ लाखमा ड्याम निर्माण गरेको थियो तर हस्तान्तरण गरेको २ वर्ष नबित्दै गएको असार २४ गते राति आएको बाढीले बगाएको थियो । त्यो समयमा ड्याम फुटेर गएको पानीले ठूलाखेतका ६ घरमा समेत क्षति पु¥याएको थियो ।