Home » पिछडिएको वडालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नेछौं ः कोपिला रानाभाट

पिछडिएको वडालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नेछौं ः कोपिला रानाभाट

by Pokhara City

बैसाख २१, पोखरा ।
पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षमा पिछडिएका वडालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । पोखरा २४ कास्कीकोटको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘हाम्रो पहिलो काम भनेको पोखरा महानगरपालिकामा विकासका हिसाबले पिछडिएका वडाहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो । हामी पछाडी परेको वडामा विशेष किसिमले योजना बनाएर जानेछौं’, उनले भनिन्, ‘अघिल्लो पाँच वर्षमा तपाईहरुको वडामा जसरी विकास हुनुपर्ने हो त्यो हुन सकेन तर अबको पाँच वर्षमा विकासमा पछाडि परेको वडालाई केन्द्रित गरी काम गर्नेछौं ।’
उनले वडा २४ पटक÷पटक धोकामा पर्दै आएको बताइन् । अब गठबन्धनलाई मत दिई पुराना सहित नयाँ सपना समेत पुरा गर्ने अवसर खेर नफाल्न उनको आग्रह थियो ।
कास्कीकोटको नामबाट नै कास्की जिल्लाको नाम रहेको सुनाउँदै रानाभाटले कास्कीकोटलाई पर्यटकीय तथा कृषि पकेट क्षेत्रको रुपमा समेत विकास गर्न सकिने उल्लेख गरिन् । खानेपानी समस्या कास्कीकोट बासीको समस्या भएकाले त्यसको निराकरण गठबन्धन सरकारले नै गर्ने प्रतिबद्धता उनको थियो ।
पोखरा महानगरबासीको गौरवताका लागि गठबन्धनले जित्नैपर्ने आवश्यकतालाई उनले औंल्याएकी छिन् । संविधानको रक्षा र राष्ट्रियताको रक्षाका लागि गठबन्धनको खाँचो परेको भनाई उनको छ ।
नेकपा एमाले प्रति कटाक्ष प्रहार गर्दै स्पष्ट बहुमत सम्हाल्न नसक्नेले अब देश बनाउने कल्पना गर्नु मुर्खता भएको उनले सुनाइन् ।
नागरिक मैत्री नीति र सिद्धान्तका आधारमा नै स्थानीय तहमा गठबन्धन सरकार बन्नेमा उनी विश्वस्त छिन् । विगतको एमाले सरकारले देखाएको झुटा सपनालाई चिर्दै लैजाने र विकासको गतिलाई अगाडि बढाउने जिम्मेबारी साथ आफुहरु चुनावी मैदानमा होमिएको उनले बताइन् ।
निर्वाचनमा महिलाहरुको सहभागिता बढी भएको र चनाखो हुनुपर्ने अवस्था सिर्जना भएको प्रति उनले ध्यानार्कषण गराइन् । घर मात्र नभई देश बनाउने जिम्मेबारी समेत महिलाको काँधमा आए मुलुकले आमुल परिवर्तनको दिशा तर्फ अग्रसर हुने तर्क उनको थियो ।

You may also like