Home » पोखरा ११ मा मेयर तथा उपमेयरका उमेद्वारसहितको चुनावी भेला

पोखरा ११ मा मेयर तथा उपमेयरका उमेद्वारसहितको चुनावी भेला

by Pokhara City

पोखरा, २२ वैशाख ।
पोखरा महानगरपालिका वडा नं ११ मा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चुनावी भेला तथा उमेद्वार परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ । महानगरपालिकामा नेकपा एमालेका उमेद्वार कृष्ण थापा तथा उपमेयरका उमेद्वार मञ्जुदेवी गुरुङसहित रानीपौवामा चुनावी भेला तथा उमेद्वार परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरमा एमालेका तर्फबाट उमेद्वार कृष्ण थापाले देशमा विकास गर्न सक्ने पार्टी एमाले मात्र भएको बताएका छन् । उमेद्वार थापाले वडालाई समृद्ध बनाउन एकजुट भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘वडा नं ११ लाई समृद्ध बनाउन विकास निर्माणका बाँकी कामलाई निरन्तरता दिइने छ ।’ भेलामा उमेद्वार थापाले भने, ‘वडामा रहेका भित्री चोकमा नबनेका सडकलाई पीच गर्ने पहल गर्नेछु ।’

परिचयात्मक कार्यक्रममा थापाले पोखराको वडा नं ११ र १३ जोड्ने कृषि मार्ग निर्माण गर्ने घोषणा समेत गरेका छन् । ‘११ र १३ जोड्ने कृषि मार्ग निर्माण गर्ने, कृषि मार्ग बाझखोलाबाट पाडेचोक हुँदै मचारी, बुडुवा हुँदै रानीबगरसम्मको कृषि मार्ग बनाउने छु ।’ उनले कार्यक्रममा भने ।

त्यस्तै उपमेयरकी उमेद्वार मञ्जुदेवी गुरुङले ११ नं वडामा न्यायिक समिति समेत नभएको बताउँदै अब आउने दिनमा न्यायिक समिति गठन गर्ने बताएकी छिन् । गुरुङले वडामा युवाको समस्या समाधान गर्न युवा परिषद् गठन गर्ने घोषणा गरेकी छिन् । ‘मुलुकको भविष्य नै युवा हुन् । तर उनीहरुको समस्याका विषयमा कसैले पनि सोचिरहेका छैनन् ।’ उनले भनिन्, ‘त्यही विषयलाई मध्येनजर गर्दै युवाको समस्या सामाधन गर्न युवा परिषद् गठन गर्छु ।’ वडाका केही ठाउँमा सडक पीच नभएको र उक्त सडक पीच गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गरिन् ।



वडामा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उमेद्वार मीन गुरुङले वडाका हरेक समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको बताए । वडाको स्तरोन्नतीका लागि आफू कुनै हालत पछाडि नहट्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा पोखरा ११ का एमाले सचिव मदनकुमार सुनारले विकासको खाका तथा योजना एमालेसंग भएको बताए । पोखराको ११ नं वडालाई समृद्ध हुनबाट अबका दिनमा कसैले रोक्न नसक्ने उनको दावी थियो ।



परिचयात्मक कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सांसद मीना गुरुङले वडामा एमालेको तर्फबाट उमेद्वार रहेकाको विषयमा जानकारी गराएकी थिइन् । उनले कार्यक्रममा एमालेका उमेद्वारलाई नै भोट किन दिने भन्ने विषयमा समेत आम मतदातालाई जानकारी प्रदान गरेकी छिन् ।

भोलि समेत उक्त वडामा एमालेले घरदैलो कार्यक्रमलाई जारी राख्ने छ । भोलि शुक्रबारको घरदैलो कार्यक्रम मणिपालबाट सुरु हुने पार्टीका वडा सचिव सुनारले जानकारी दिएका छन् ।

You may also like