पोखरा, २२ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले पोखरा महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले जित्ने दाबी गरेका छन् । पोखरामा बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राप्रपा प्रति घरदैलोमा देखिएको जनसमर्थनले आफूहरुलाई त्यो आत्मविश्वास मिलेको उनले बताए ।
‘हामी अरु पार्टीले जसरी झूठो बोल्दैनौँ । धेरै भन्दा धेरै जनताले साथ दिए जित्छौँ, तर यो कुरा चाहीँ पक्का हो कि हामीले महानगरमा जित निकाल्न नसकेपनि निकटतम प्रतिद्धन्दि भने हुनेछौँँ ।’ गुरुङले भने–‘हामी महानगरको दोस्रो ठुलो दल हुने निश्चित छ ।’ राप्रपाप्रति पछिल्लो समय लोभलाग्दो तरिकाले जनताको आकर्षण बढेको कुरा घरदैलोमा मतदाताहरुले दिएको समर्थनले देखाएको उनले बताए ।
त्यस्तै राप्रपाको तर्फबाट पोखरा महानगरपालिकाको मेयर प्रत्यासी शंकर खरालले राप्रपालाई पछिल्लो समय मतदाताहरुले पहिलो विकल्पको रुपमा लिएको बताए । ‘हामी भ्रष्टाचारमुक्त महानगरको मुद्दा लिएर जनताको घरदैलोमा पुगिरहेका छौँ ।’ खरालले भने–‘भ्रष्टाचारले पोखरा महानगरपालिकालाई थिलथिलो बनाएकोले जनता आजित छन् । र, हामी भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भनेर कसम खाएर चुनावी प्रतिस्पर्धामा सामेल छौँ ।’
त्यस्तै महानगरमै राप्रपाको उपमेयर प्रत्यासी रञ्जना सेन पौडेलले समावेशी र महिलामैत्री महानगर बनाउन आफ्नो उम्मेदवारी रहेको बताईन् ।
यो पटक राप्रपा कास्कीले पोखरा महानगर र कास्कीका अन्य बाँकी ४ गाउँपालिका गरेर कुल १ सय ८१ जना उम्मेदवारहरुलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।