Home » फोहोर बैक संचालन गर्ने, प्रति महिना ५ हजार लिटर खानेपानी निशुल्क ः गठबन्धन

फोहोर बैक संचालन गर्ने, प्रति महिना ५ हजार लिटर खानेपानी निशुल्क ः गठबन्धन

by Pokhara City

पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनका सम्बन्धमा आफुहरु ठोष योजनाका साथ आएको पाँच दलिय गठबन्धनका उमेदवारहरुले बताएका छन् । गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा फोहोरको वर्गीकरण गरि वेष्ट बैक मार्फत खरिद प्रणालीको सुरुवात गर्ने बताएका हुन् ।

उनिहरुका अनुसार शहरी स्वच्छता कार्यक्रम मार्फत फोहोरलाई मोहोरमा बदल्ने ध्येयका साथ घरघरमा उपभोक्ताहरुलाई फोहोरको वर्गीकरणका बारे आवश्यक ज्ञान समेत दिईनेछ । आफुहरु निर्वाचित भएको ६ महिना भित्र वेष्ट बैक मार्फत वर्गीकरण गरिएको फोहोरको खरिद प्रणाली सुरुवात गर्ने उनिहरुले बताएका छन् ।

फोहोरमैला व्यवस्थापन कार्यविधि अक्षरस पालना गर्ने प्रतिवद्धता जनाएको गठबन्धनले पोखराका ढल तथा नालीको पनि उचित व्यवस्थापन गर्ने बताएको छ । महानगरका प्रत्येक घर अगाडीको सार्वजनिक स्थलको सरसफाई र संरक्षणका लागि “मेरो घरआँगन मेरो जिम्मेवारी” अभियान चलाउने उनिहरुले बताएका छन् ।

उनिहरुका अनुसार फोहोरमैला नियन्त्रणका लागि शिशा तथा प्लाष्टिकजन्य बोतल लगायत कवाडीले संकलन नगर्ने फोहोरहरुमा धरौटी राख्ने प्रणालीको व्यवस्था गरिनेछ । पोखरा महानगरपालिका भित्र आवश्यक संख्यामा सार्वजनिक शौचालयहरुको निर्माण गर्ने गठबन्धनले बताएको छ ।

महानगरको सौन्दर्यकरणका लागि अभियानका रुपमा वृक्षारोपण गर्नुका साथै पोखरामा रहेका पार्क तथा वाटिकाहरुको संरक्षण, विकास र प्रवद्र्धन गर्ने गठबन्धनका उमेद्वारहरुले प्रतिवद्धता जनाएका छन् । महानगरलाई फूलमा आत्मर्निभर बनाउन र शहरी सौन्दर्य बढाउन “एक टोल एक नर्सरी, एक घर पाँच गमला र एक फक्रेको फूल” कार्यक्रम संचालन गर्ने उनिहरुले बताएका छन् ।

पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा खानेपानीको चरम समस्या रहेको बताएका उनिहरुले महानगरवासीलाई कम्तीमा मासिक ५ हजार लिटर शुद्ध खानेपानी निशुल्क वितरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

You may also like