Home » अत्यावश्यक सिफारिस सित्तैमा, एकै कोठाबाट सबै सेवा

अत्यावश्यक सिफारिस सित्तैमा, एकै कोठाबाट सबै सेवा

by Pokhara City

पोखरा, २२ वैशाख
अचेल गाउँले भन्छन् गाउँ गाउँमा सिंहदरबारमात्र आएन, सँगसँगै सिंहदरबारको भ्रष्टाचारसमेत आयो । गणतन्त्र आएपछि स्थानीयले तिर्नुपर्ने कर दोब्बर, तेब्बर बनाइएका छन् । सानातिना काम गर्न पनि धेरै कोठा चहार्नुपर्ने, बारम्बार कर तिर्नुपर्ने झन्झट छँदै छ । नागरिकको यो गुनासोलाई सम्बोधन गर्ने वाचासहित पोखरा महानगरमा गठबन्धनका उम्मदेवार चुनावी मैदानमा छन् ।

पोखरा महानगरमा आफूहरुले जितेमा एकै कोठाबाट नागरिकलाई सबै सेवा दिने मेयर उम्मेदवार धनराज आचार्य बताउँछन् । उनी भन्छन्, ‘नागरिकलाई महानगरको आभास दिलाउन पनि यो जरुरी छ । हामी गफ गर्दैनौं, ३ महिनाभित्रै यस्तो सेवा सुरु गर्छाैं ।’ उनले नागरिकलाई विभिन्न क्षेत्रमा सहुलियत र महसुस गर्ने गरी सरल, सुलभ सेवा दिने प्रतिवद्धता गरेका छन् । पोखरा २८ का विभिन्न टोलमा घरदैलोका क्रममा उनले आफूहरुले पद बहाली गरेकै दिनदेखि अत्यावश्यक सिफारिस निःशुल्क गरिने प्रतीज्ञा गरेका छन् ।

उम्मेदवार आचार्यले पोखरा २८, ३३, १८ सहित अन्य वडामा समेत खानेपानीको समस्या रहेको उल्लेख गर्दै कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ योजना सञ्चालन, लिफ्टिङ, बोरिङ जस्ता उपाय अपनाएर भए पनि नागरिकलाई खानेपानी दिनैपर्छ । खानेपानी, बाटो, सडक, स्वास्थ्य, शिक्षाको प्रबन्धै नभएको कसरी महानगर हुन्छ ?’ उनले एउटा परिवारलाई हरेक महिना ५ हजार लिटर पानी सित्तैमा उपलब्ध गराउने प्रतिवद्धतासमेत गरे ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले महानगरमा पछि थपिएका वडाहरुमा खानेपानी र सडककै मुख्य समस्या रहेको उल्लेख गर्दै आफूहरुले योजनावद्ध रुपमा ती समस्या समाधान गर्ने सुनाइन् । पोखरालाई युग सुहाउँदो आधुनिक सहर र त्यस अनुरुपमा पूर्वाधार र विकास, निर्माण नै आफूहरुको अर्जुनदृष्टि भएको उनको भनाइ छ ।

You may also like