पोखरा,२२ वैशाख
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा–९ ले स्थानीय तह निर्वाचनका लागि वडामा निर्वाचन प्रचार प्रसारलाई तीव्रता दिएको छ ।
माओवादी केन्द्रका उम्मेदवारहरुले पोखराको मुख्य क्षेत्र महेन्द्रपुल, ,पृथ्वीचोक, नयाँबजार, चिप्लुेढुँगा लगायतका क्षेत्रमा घरदैलो गर्दै स्थानीयवासीसँग मत मागेका छन् ।
माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका बमबहादुर कार्कीले व्यावसायिक रुपमा पछि परेको पृथ्वीचोकदेखी नयाँबजार हुँदै महेन्द्रपुलसम्मको क्षेत्रलाई सन्ध्याकालिन मार्केटका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए ।
बजारलाई व्यवस्थित गरी राति अवेरसम्म सञ्चालन गर्ने र किनमेलको थलोका रुपमा विकास गर्ने योजना उनको छ । कार्कीले भने, “हामी निर्वाचित भएको खण्डमा व्यावसायिक हिसावले पछि परेको महेन्द्रपुलदेखी पृथ्वीचोकसम्मको क्षेत्रलाई वडाको नेतृत्वमा सन्ध्याकालिन मार्केट हबका रुपमा विकास गर्ने योजना छ ।”

पोखरा–९ मा स्थानीय सत्ता सञ्चालन गर्ने व्यक्ति फेरिएपनि सत्ताको मुल चरित्र परिर्वत नभएकाले यसपटक जनताको साथ पाउनेमा विश्वस्त रहेको माओवादीले जनाएको छ । अघिल्लो पटकको निर्वाचनमा पनि सो वडामा माओवादी केन्द्रले सम्मानजनक मत पाएको थियो ।
वडाध्यक्षका उम्मेदवार कार्कीले रामघाट जाने सडक नजिकको सेतीगंगा टोललाई ऐतिहासिक र पर्यटकीयस्थलका रुपमा विकास गर्ने, महेन्द्रपुलमा रहेको सार्वजनिक जग्गामा पार्क बनाउने, सेती नदीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आवश्यक पूर्वाधार बनाउने आफ्नो योजना रहेको सुनाए । विहीबार साँघुको मुखबाट सुरु भएको घरदैलो पालिखेचोक, चिप्लढुँगा, बास्तोलाधर, न्यूरोड, सामसुङ गल्ली,दरवारथोक र नयाँबजारहुँदै महेन्द्रपुलसम्म गरिएको थियो ।
माओवादीबाट पोखरा–९ मा बमबहादुर कार्की वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ भने महिला सदस्य मीना कुमारी गुरुङ, दलित महिला सुनिता दर्जी र खुला सदस्यमा आसबहादुर विक र रामबहादुर बयलकोटी चुनावी मैदानमा छन् ।