पोखरा २२ वैशाख ।
नेकपा एमाले पोखरा ११ ले घरदैलो अभियान मध्य चरणमा पुगेको छ । वडाका महत्वपूर्ण ठाउँहरुमा घरदैलो गरी मत माग्ने काम करिब आधाजसो ठाउँमा सकिएको प्रचारप्रसार संयोजक मदन सुनारले जानकारी दिए ।
शुक्रबार पनि बिहानैदेखि उमेद्वार मीनबहादुर गुरुङ सहितको टोलीले काहुँ धरहरामार्ग, शिवशक्ति मार्ग, मणिपाल क्षेत्र, पुन टोल लगायतका मतदातालाई भेटेर उनीहरुका सुझाव संकलन गरेको छ । स्थानीयले बाटोघाटो र खानेपानीको समस्या सुनाएका छन् । साथै आफूहरुको समस्या एमालेले नै समाधान गर्ने विश्वास उनीहरुले व्यक्त गरे । मणिपाल शिक्षण अस्पतालमा बारम्बार मजदुरले आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गरिने उमेद्वार गुरुङले विश्वास दिलाएका छन् ।
वडा नं ११ मा एमालेबाट अध्यक्षका उमेदवार गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा छन् ।
पोखरा ११ मा चुनावी अभियान अन्तरगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरि प्रचारप्रसारलाई निकै उत्साहपूर्वक रुपमा सञ्चालन गरिएकोे प्रचारप्रसार संयोजक मदनकुमार सुनारले जानकारी दिएका छन् ।