पोखरा, २४ वैशाख ।
पोखरा महानगरपालिका वडा नं २५ को वस्तुगत विवरण सार्वजनिक भएको छ । शनिबार वडा नं २५ का वडाध्यक्ष शोभाखर तिम्सिनाले वस्तुगत विवरण (पाश्र्व चित्र) पुस्तिका सार्वजनिक गरेका हुन् ।
उनले स्थानीय तहको भावी योजना तथा कार्यक्रम र नीति निर्माणको कामलाई आधार प्रदान गर्ने उद्देश्यले पाश्र्व चित्र तयार पारिएको बताए । पाश्र्व चित्रले वडा नं २५ को विभिन्न स्थानको आवश्यकतामा आधारित विकासका कार्यक्रम तथा रणनैतिक योजना तर्जुमा गर्नका लागि महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई छ ।
वडाध्यक्ष तिम्सिनाले २०७४ मा आफू निर्वाचित भएपछि आफुले घोषणा गरेका वडाका अधिकांश योजना पूरा भएको जानकारी गराए । वडासचिव तथा पाश्र्व चित्रका सम्पादक इश्वरीप्रसाद पोखरेलले वैज्ञानिक योजना तथा पद्वति निर्माणका लागि भरपर्दाे तथ्यांक अपरिहार्य हुने भएकाले तुलनात्मक अध्ययन, अनुसन्धान, विश्लेषण, विवेचना गर्न र सम्भावनाहरुको खोजी गर्न पाश्र्व चित्रको अपरिहार्य महत्व रहेको बताए ।
उनले पुस्तिकामा वडा नं २५ को परिचयसहित जनसंख्या विवरण, सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, विविध पक्ष र स्थानीय तहका पाँच वर्षमा भएका कार्यहरुको प्रगती विवरण समेटिएको बताए ।
सचिव पोखरेलले बाहिर कुरा आएजस्तो चुनावको मुखैमा पाश्र्व चित्र सार्वजनिक गर्ने काम आचारसंहिता विपरित नभएको कुरा उल्लेख गरे । उनले भने, ‘हाम्रो चुनावसँग सम्बन्ध केही पनि छैन, तर वडाको सम्पूर्ण वस्तुस्थिति समेटिएको र ५ वर्षमा जनप्रतिनिधिले के कति काम गर्नुभयो स्पष्ट पार्न र बाँकी कामका लागि अब आउने जनप्रतिनिधिलाई काम गर्न सहज होस भन्ने उद्देश्यले अहिले सार्वजनिक गरेका हौं । यसमा कुनै पूर्वाग्रही सोच छैन ।’
वडा सदस्य तथा वडा वस्तुस्थिति पुस्तिका प्रकाशन समितिका संयोजक जीतबहादुर कार्कीले वडामा विगतदेखि वर्तमानसम्म भए गरेका विकास निर्माणका कार्य, वडामा रहेका सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक लगायतका क्षेत्रको वस्तुस्थितिको वारेमा वडावासी, राजनैतिक दल, विभिन्न संघ संस्था, समाजसेवी, अनुसन्धानकर्ता, योजनकार, शिक्षाकर्मी समाजसेवी लगायतलाई जानकारी दिने उद्देश्यले वडा वस्तुस्थिति पुस्तिका तयार पारिएको बताए ।
वस्तुस्थिति पुस्तिका प्रकाशन समितिका सदस्य कमलमणी त्रिपाठीले पुस्तिकाले वडाको सम्पूर्ण वस्तुस्थिति जानकारी गराउने बताए ।
वडा सदस्य जीतबहादुर कार्कीको संयोजकत्वमा तयार पारिएको पाश्र्व चित्रका सदस्यमा लक्ष्मी अधिकारी, कृष्णप्रसाद पौडेल, कमलमणी त्रिपाठी, भिमप्रसाद श्रेष्ठ र ऋषिराम पौडेल रहेका छन् ।
पाश्र्व चित्रको अन्तिम सम्पादनको कार्य अझै बाँकी रहेको हुदा पाश्र्व चित्रमा थपघट गर्नुपर्ने केही कुरा भएमा पुस्तिका अध्ययन गरि सुझाव दिन वडा कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।