पोखरा, २४ वैशाख ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्माले देशव्यापी रुपमा देखिएको जनलहरले एमालेको जित सुनिश्चित भइसकेको बताएका छन् । आज पार्टीको निर्वाचन परिचालन कमिटी पोखरा १९ ले पोखराको लामाचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशव्यापी एमालेको जित सुनिश्चित भइसकेको र एमालेविरुद्ध बनेको गठबन्धन दिनप्रतिदिन कमजोर बन्दै गइरहेको बताएका हुन् । आम मतदाताले आफ्नो विवेक प्रयोग गर्ने र गठबन्धनलाई यसपटक धुलो चटाइदिने दावी उनले गरे । ‘कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउन लागि परेकाको दिनगन्ती सुरू भएको छ ।’ नेता सुनारले भने, ‘जनता गठबन्धन होइन, समृद्धि चाहन्छन् ।’
मेयरका प्रत्यासी कृष्णबहादुर थापाले समृद्ध पोखरा निर्माणका लागि आफूले थुप्रै योजना सार्वजनिक गरेको बताउँदै, त्यसको कार्यान्वयनका लागि एमालेको जित आवश्यक रहेको बताए । थापाले पोखरा १९ का अधिकांस ग्रामीण क्षेत्रमा सुरुआत भएका विकासका पूर्वाधारलाई निर्माण सम्पन्न गर्न वडासँग समन्वय गरिने बताएका छन् ।

उपमेयरका प्रत्यासी मञ्जुदेवी गुरूङले आफूले ५ वर्षको कार्यकालमा थुप्रै काम गरेकोे बताउँदै थप समृद्ध पोखरा निर्माणका लागि सूर्यमा मतदान गर्न आग्रह गरिन् । एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङले पोखराको व्यवस्थित विकासको योजना एमाले सगमात्र भएको दावी गरे ।
वडाध्यक्षका एमाले उमेद्वार इमानराज पौडेलले जनताको शीरलाई उँचो राख्ने गरि जनजीविका योजनालाई प्रथामिकताका साथ अगाडि बढाउने बताए । उनले लामाचौरको भलबाढी नियन्त्रण, सिचाईंका लागि नहर निर्माण, वडाभित्रका सबै क्षेत्रमा व्यवस्थित सडक, भुनपरेको पहिरो नियन्त्रण, कृषि उत्पादनमूलक कार्यलाई प्राथमिकता दिने लगायतका पूर्वाधार कार्यलाई अगाडि बढाउने प्रतिवद्धता जनाए । उनले कर्मचारीका कारण कुनै पनि सेवाग्राहीको काम समयमै नहुने समस्यालाई अन्त्य गरि तत्काल सेवा दिने बताए ।
एमाले वडा कमिटीका अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य शोभामोहन पौडेल, जिल्ला सदस्य एवं वडा इन्चार्ज सुरेन्द्रमानसिह भण्डारी, उपाध्यक्ष धर्ममानसिह भण्डारी, सचिव विकास गौतम लगायतले सुखी र समृद्ध पोखरा निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । कार्यक्रममा जनसास्कृतिक मञ्चका जीवन दाहाल सहितका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।