पोखरा, २५ बैशाख ।
चुनावी घरदैलोमा पुगेका उम्मेदवार र उनीहरुको समूहले यतिबेला महानगरका ३३ वटै वडाका मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाईरहेका छन् । मत बदर नभई गठबन्धनको पक्षमा बढि भन्दा बढि मत ल्याउनका लागि मतदाता शिक्षा आवश्यक भएको ठहर गर्दै उम्मेदवारहरुले मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाएका हुन् ।
नेपाली काँग्रेसले मतदाता नझुक्किउन् भनेर प्रत्येक वडामा टोली नै खटाएर मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाईरहेको जिल्ला सभापति किशोरदत्त बरालले बताए । ‘प्रत्येक वडामा हामीले वडा कमिटिमार्फत यो अभियानलाई तिव्रता दिईरहेका छौँ । गठबन्धन सँयुक्त रुपमा चुनावी मैदानमा भएका कारण चुनाव चिन्हले मतदाता नझुक्किउन् भन्नेमा हामी सचेत छौँ ।’ सभापति बरालले भने ।
यतिबेला वडा वडामा नेपाली काँग्रेसको ईकाई कमिटिहरुले नमूना मतदानको कार्यक्रम आयोजना गरेर मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाईरहेका छन् । विशेषगरि महिला, वृद्धवृद्धाहरुलाई यो अभियान सहभागी गराईएको नेपाली काँग्रेस कास्कीले जनाएको छ । यसैबीच आईतबार पोखराको वडा नम्बर ८ मा भएको नमूना मतदानमा ३५ जना महिलाहरुलाई सहभागी गराईएको नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि मिलन थापाले भनिन् ।
महिला दिदीबहिनीहरुलाई मतपत्रमा स्वस्तिक छाप कसरी लगाउने, मतपत्र कसरी पट्याउने भन्ने र आफ्नो मतलाई बदर हुन नदिन अपनाउनुपर्ने संवेदनशिलताका विषयमा प्रशिक्षण दिइएको थियो । वडा नम्बर ८ मा शारदा गिरी अध्यक्षका उम्मेदवार छन् ।
त्यस्तै पोखरा १७ मा पनि आईतबार मतदातालाई मत हाल्ने तरिका सिकाईएको छ । वडा अध्यक्षका उम्मेदवार रहेका नेपाली काँग्रेसका देवराज आचार्यले मतदाताहरुलाई मत सहि तरिकाले हालेर नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि मतदाताहरुसमक्ष आग्रह गरिरहेका छन् ।
पोखराको वडा नम्बर १ देखि ३३ सम्मका सम्पूर्ण वडाहरुमा यतिबेला चुनावी घरदैलो र मतदाता शिक्षा सँगसँगै चलिरहेको उम्मेदवारहरुले बताएका छन् । यो पटक नेपाली काँग्रेस र गठबन्धनको पक्षमा अत्याधिक मतदाताहरुको समर्थन देखिएको उनीहरुले बताएका छन् । गठबन्धन र फरक चुनाव चिन्ह हुँदा मतदाता नझुक्किउन् भनेर अभियान नै चलाएर मतदातालाई बुझाउन परेको नेपाली काँग्रेस कास्कीले जनाएको छ ।