Home » कास्की एमालेले भन्यो: नीजि सम्वादलाई जोडेर ‘राजनीतिलाई अपराधिकरण’ गर्न नखोजौं

कास्की एमालेले भन्यो: नीजि सम्वादलाई जोडेर ‘राजनीतिलाई अपराधिकरण’ गर्न नखोजौं

by Pokhara City

कास्की, २ जेठ

नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण थापालाई हराउन पार्टीभित्रैबाट गुटवन्दी गरी विपक्षीलाई सहयोग गर्ने विषयमा सामाजिक सञ्जाल तथा केही मिडियामा आएको अडियो तथा भिडियोको बारेमा सत्यता नरहेको एमाले जिल्ला कमिटी कास्कीले प्रष्ट पारेको छ
राजनीतिक जीवनमा कोही व्यक्तिसँग प्रतिष्पर्धा हुनु स्वभाविक भएता पनि निर्वाचनमा नै हराउने गरीको अन्तरघातका कामहरु एमाले र एमालेका कार्यकर्ताले कुनै पनि हालतमा गर्न नसक्ने र नहुने दृढता प्रस्तुत गर्दै एमाले जिल्ला कमिटीले उक्त अडियो तथा भिडियोको बारेमा समिति बनाई छानविन गर्ने र दोषी उपर पार्टी तथा नेपालको कानुन अनुसार कारवाही अगाडी बढाउने प्रतिवद्धता समेत गरेको छ । पार्टी अध्यक्ष मनबहादुर गुरुङद्वारा आज जारी विज्ञप्तीमा अडियो तथा भिडियो निर्माणमा सम्बद्ध व्यक्तिहरुमाथि पार्टीले गहिरो निगरानी रोखेको उल्लेख गरिएको छ ।

उक्त अडियो तथा भिडियोमा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला सहइन्चार्ज राजिव पहारीसँग जोडेर पार्टी तथा नेतृत्वमाथि हिलो छ्याप्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने उद्घोष समेत गरेको छ । जिल्ला पार्टी कमिटीले सम्भावना बोकेका नेतालाई आक्षेप लगाई पार्टीको लागि मात्र नभई आम युवाहरुको भाग्य र भविष्य निर्माणको लागि आफ्नो जीवनलाई नै समर्पण गरेको व्यक्तिमाथि लान्छना लगाउनु गलत भएको उल्लेख गरेको छ । अनावश्यक विषयहरुलाई उचालेर पार्टी र नेतृत्वप्रति नै अविश्वास पैदा गर्ने र विपक्षीलाई यस्ता विषयमाथि खेल्ने मौका दिने तरिकाले पार्टी सवल र सुदृढ बन्न नसक्ने जिल्ला कमिटीले निश्कर्ष निकालेको छ ।

त्यस्तै गण्डकी प्रदेशका सांसद समेत रहनुभएका पहारीले आफुले पार्टीको उम्मेदवारलाई जित हासिल गराउन अहोरात्र निर्वाचनमा खटिएको तथ्य नै उक्त अडियो तथा भिडियो गलत रहेको भन्ने कुरा प्रष्ट भएको दावी बताइएको छ । मिथ्या कुरा जोडेर कपोकल्पी आरोप लगाउनु आफ्नो चरित्र हत्या गर्ने प्रपञ्जमात्र भएको उल्लेख गर्दै उहाँ निकट स्रोतले अडियो तथा भिडियोमा कुरा गरेको भनिएको मनोज पहारी आफ्नो सचिवालयको सदस्य नभएको बतायो ।

सांसद पहारीले सत्य तथ्य छानविन समिति बनाई दोषी उपर कारवाही गर्न समेत पार्टी कमिटीलाई माग गर्नुभएको उहाँ निकट स्रोतले जानकारी दिएको छ । त्यस्तै सांसद पहारीले आफु जहिले पनि पार्टीको सच्चा सिपाही भएको उल्लेख गर्दै उहाँले पार्टीले उठाएको उम्मेदवारलाई जिताउन जस्तोसुकै भूमिका निर्वाह गरिहेको पार्टी कमिटी तथा एमालेका आम कार्यकर्तालाई स्पष्ट रहेको समेत उहाँले बताउनुभएको स्रोतले जानकारी दिएको छ ।

You may also like