पोखरा, जेठ ११ गते
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनताको प्रत्यक्ष सरकार भएकाले जनभावनाअनुरुप कार्यसम्पादन गर्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा आज नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न उहाँले आग्रह गर्नुभयो ।
नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन आवश्यकता भएको बताउनुभयो । गठबन्धनका परिणाम सकारात्मक देखिएकाले आगामी प्रदेश तथा संघीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजानु पर्ने बताउनु भयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवम् भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिनुभयो । आफ्ना पालिकाहरूमा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, नेपाली काँग्रेस बाग्लुङका सभापति जीत शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा नेपाल सरकारका पूर्व मुख्य सचिव डा.सोमलाल सुवेदी र पूर्व सचिव वावुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभव सहित गर्नसकिने कामहरू लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।