पोखरा, १५ जेठ
सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजी कार्य प्रभावित भएको छ । जोमसोमबाट जहाजको खोजीको लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण बीच बाटोबाट फर्किएको छ । पोखरा–जोमसोम रुटमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकाको लेतेमा पानी परेकोले फिष्टेल एयरको हेलिकप्टर बीचबाटै फर्केको जिल्ल प्रशासन कार्यालय मुस्ताङले बताएको छ । लेते क्षेत्रको आकाशमा बाक्लो हुस्सु लागेको र त्यस क्षेत्रमा पानी पनि परेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताए । उनल पानी परेको र हुस्सुले गर्दा कतै पनि देख्न नसकिने बताए ।
पोखराबाट जोमसोमको लागि बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको हो । पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो । जोमसोम टावरसँग सम्पर्क भएको केही समयपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताए । जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए । यात्रुमा २ जना जर्मनी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्याे । जहाज १० बजेर ७ मिनेटसम्म सम्पर्कमा थियो । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।
थासाङ गाउँपालिकाको लेते क्षेत्रमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ । सुवेदीका अनुसार २ वटा उडान पूरा गरेको जहाजले तेस्रो उडान भर्दा सम्पर्कविहीन भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जहाज खोजीका लागि काठमाडाै ; पोखरा र जोमसोममा हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ । केन्द्रले विज्ञप्ति निकालेर मौसममा सुधार आउने वित्तिकै जहाजको खोजी गरिने जनाएको छ ।