पोखरा, जेठ १७
पोखरा–जोमसोम उडानको क्रममा यही जेठ १५ गते भएको तारा एयरको जहाज दुर्घटनाप्रति होटल संघ पोखरा, नेपालले दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी दुर्घटनाको क्रममा यात्रु र चालक दलका सदस्य सहित ज्यान गुमाएका २२ जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रटक गरेका छन् ।
तारा एयरको नाइनएन–एईटी कल साइन भएको ट्वीनअटर विमान पोखरा विमानस्थलबाट बिहान ९।५५ वजे उडान भरेको १२ मिनट पछि मुस्ताङको थसाङ गाउँपालिका– २ मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको घटनास्थलमा नै निधन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।
संघको विज्ञप्तिमा भनिएको छ– यसप्रकारको हवाई दुर्घटनाले नेपालको हवाई सेवाको विश्वसनीयता माथि प्रश्न उठ्न सक्ने मात्र नभई पर्यटकीय गतिविधिमा समेत नकारात्मक असर पर्न सक्छ । अतः जहाजको प्राविधिक तथा मौसमको अवस्थाबारे विशेष ख्याल गर्दै हवाई सेवालाई सुरक्षित र भरर्दो बनाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छौं ।