काठमाडौं
झापाको जेलमा रहेका भारतीय फोटोग्राफरको रिहाइका लागि राष्ट्रिय फोटो पत्रकार समूहले पहल गर्ने भएको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पूर्पक्षका लागि थुनामा रहेको समाचार बाहिरिएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाइका लागि पहल गर्ने बताएका हुन् ।
‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरू अध्ययन गर्दा उनी व्यावसायिक फोटो पत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं,’ अध्यक्ष वन्तले भने ।
प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसूरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
त्यसपछि उनी पूर्पक्षका लागि थुनामा छन् । मुद्दाको पूर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अंग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन ।
भारतको कोलकाता नजिकैको हावरा स्थायी ठेगाना भएका २४ वर्षीय दुर्लभ रोय चौधरी खासमा भारतीय फोटोग्राफर र ब्लगर हुन् ।
नेसनल जिओग्राफी, प्राक्टिकल फोटोग्राफी, वल्र्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डियालगायतका विभिन्न संस्थामा फ्रिलान्स फोटोग्राफरका रुपमा काम गर्ने चौधरीले डलरको फोटोकपी बोकेर नेपाल आएकाले उनलाई भद्रपुरस्थित विमानस्थलबाट पक्राउ गरिएको थियो ।
गत मंसिरको २ गते साँझ साढे ४ बजे झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौं आउने क्रममा डलरजस्तो देखिने २२६ थान नोटसहित दुर्लभलाई पक्राउ गरिएको थियो ।
प्रहरी प्रतिवेदनअनुसार भद्रपुरबाट काठमाडौं जाने क्रममा शरीर तथा ब्याग खानतलासी गर्ने क्रममा चौधरीको साथबाट एक सय दरका २२६ थान अमेरिकी नोटहरू फेला परेको थियो ।
उक्त नोटसहित चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइयो र प्रहरी प्रतिवेदनका आधारमा मंसिर २४ गते झापा जिल्ला अदालतमा मुद्रासम्बन्धी कसूरमा उनीमाथि मुद्दा चलाइएको थियो ।
भारतको कोलकातामा बसोबास गरिरहेका दुर्लभ फोटोग्राफी र भिडियो ब्लगिङमा रुचि राख्छन् । कक्षा १२ उत्तीर्ण गरेपछि उनी फोटोग्राफीमै थप शिक्षा हासिल गर्न चाहन्थे ।
तर, सन् २०१५ मा क्यान्सरको कारण दुर्लभको बुबाको मृत्यु भयो । बुबाआमा र एक सन्तान मात्रै भएको परिवारमा कमाउने व्यक्तिको मृत्यु भएपछि दुर्लभले चाहेको जस्तो शिक्षा लिन सकेनन् ।
अनि कक्षा १२ उत्तीर्ण गरेलगत्तै फोटोग्राफीलाई नै आफ्नो पेशा बनाए । त्यही पेशाबाट नै आफू र आमाको पालनपोषण गर्न थाले । यसै क्रममा उनले नेशनल जिओग्राफी, प्राक्टिकल फोटोग्राफी, वल्र्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका विभिन्न फ्रिलान्स फोटोग्राफरका रुपमा काम गर्न थाले । यसबाट उनको आम्दानी राम्रै हुन थाल्यो ।
यसैक्रममा दुर्लभले सर्ट मुभी र डकुमेन्ट्री तथा भिडियो ब्लगहरु समेत बनाउन थाले । दुर्लभले स्निपर मंक ट्राभल्स नामक युटुब च्यानल पनि भर्खरै खोले र त्यसका लागि ट्राभल ब्लग तथा डकुमेन्ट्री बनाउन थाले ।
अन्य देशमा पुगेरसमेत ट्राभल्स ब्लगहरू बनाएका दुर्लभलाई नेपालको प्राकृतिक सुन्दरताको बारेमा ट्राभल्स ब्लग बनाउने इच्छा लाग्यो । आफू घुम्न पनि हुने र ट्राभल्स ब्लग पनि बनाउन सकिने भएपछि दुर्लभ कोलकाताबाट जलपाइगुडी हुँदै नेपाल आए ।
दिल्ली वा मुम्बईबाट सोझै काठमाडौं आउन टिकट महँगो पर्ने भएपछि दुर्लभ झापाको काकडभित्ताबाट प्लेनमा काठमाडौं आउनका लागि टिकट काटे र विमानस्थल पुगे । त्यही क्रममा दुर्लभको साथबाट प्रहरीले २२६ थान डलरको फोटोकपी जस्तो देखिने नोट बरामद गरेको थियो । सो फोटोकपी नोट डकुमेन्ट्रीका लागि आफूले ल्याएको चौधरीले बताउँदै आएका छन् ।