Home » सरकार र निजी क्षेत्र मिलेरमात्र समृद्धि ल्याउन सकिन्छ ः मेयर आचार्य

सरकार र निजी क्षेत्र मिलेरमात्र समृद्धि ल्याउन सकिन्छ ः मेयर आचार्य

by Pokhara City

पोखरा, १८ असार
पोखरा महानगरपालिकाका प्रमुख धनराज अचार्यलेसरकार र निजी क्षेत्र मिलेरमात्र सबै क्षेत्रमा समृद्धि ल्याउन सकिने बताएका छन् । शनिबार पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको उद्यमी लगानीकर्ता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख आचार्यले सरकार एक्लैले सबैकुरा गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरकारले हातमा हात र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने धारणा राखे ।
सरकारले नीतिगत रुपमा सहजढंगले लगानीको वातावरण बनाउने र निजीक्षेत्रले लगानी गर्नुपर्ने उनको भनाई थियो । ‘सरकार र निजी क्षेत्र मिलेर मात्र सबै क्षेत्रमा समृद्धि ल्याउन सकिन्छ । सरकार एक्लैले केही गर्न सक्दैन । निजी क्षेत्रसंग हातमा हात र काँधमा काँध मिलाएर काम गर्ने हो । सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने हो । लगानी निजी क्षेत्रले गर्ने हो’ उनले भने ।

संविधानले तीन वटै तहका सरकारका सिमा र अधिकार तोकिदिएको भन्दै उनले तीन वटै सरकारको नेतृत्व गर्नेहरुले आफ्नो सीमा र संविधानले दिएको अधिकारलाई मनन् गर्नुपर्ने उनले बताए । केन्द्रमा बस्नेहरुले अधिकार प्रदेशमा दिन नखोज्ने, प्रदेशमा बस्नेहरुले स्थानीय तहसंग सहकार्य गर्न नखोज्ने र स्थानीय सरकारमा बस्नेले पनि आफैमा सबैथोक हो भन्ने प्रवृति विकास निर्माण र जनताका लागि हितकर नहुने उनले टिप्पणी गरेका छन् ।
आफूले जहाँ नेतृत्व गर्ने अवसर आउँछ त्यहीँ सबै कुरा हो भन्ने प्रवृत्तिले मुलुक नबन्ने उनले बताए । जनहितलाई केन्द्रमा राखेर संविधानले दिएको अधिकारलाई समन्वयात्मक ढंगले उपयोग गरेमात्र जनताले खोजेको विकास र समृद्धि दिन सकिने मेयर आचार्यको धारणा थियो । पोखरा अथाहा पर्यटकीय सम्भवना बोकेको सहर रहेकाले यहाँको पर्यटन क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे । उनले पर्यटन क्षेत्रका लागी महानगरले ५० करोड भन्दा धेरै बजेट छुट्याएको समेत उक्त अवसरमा जानकारी दिए ।

You may also like