Home » जग्गा भाडामा लगाउँदा कानुनी त्रुटी भए सम्झौता खारेज गर्ने अधिकार समितिलाई छ ः निवर्तमान मेयर जिसी

जग्गा भाडामा लगाउँदा कानुनी त्रुटी भए सम्झौता खारेज गर्ने अधिकार समितिलाई छ ः निवर्तमान मेयर जिसी

by Pokhara City

पोखरा, २२ असार

पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बुधबार एक विज्ञप्ति निकालेर उनले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार भएको बताएका हुन् । उनले कुनै पनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह समेत विज्ञप्ति मार्फत् गरेका छन् । ‘पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो ।’ जिसीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

२०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आउनु भन्दा अगाडि ठाडो तोक आदेशमा समितिको जग्गा भाडामा लगाउने प्रवृत्तिको अन्त्य गर्दै प्रचलित कानुुनको अधिनमा रही प्रतिष्पर्धाका आधारमा जसले बढी भाडा दिन कबुल गर्छ उसैलाई सर्तसहितको नियममा टेकेर जग्गा भाडामा लगाइएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिको स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तीन वटा जग्गाको भाडा पनि विगतमा कति थियो र अहिले कतिमा भाडामा लगाइएको हो ? सो को अध्ययन गरेर सत्य बाहिर ल्याउन सञ्चार माध्यमलाई विनम्रता पूर्वक आग्रह गर्दछु । ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा विगतको गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै जग्गाको प्रचलित मूल्य अनुसार प्राविधिक र प्रशासनिक टिमले तयार पारेको रिपोर्टलाई आधार मानेर नै कानुन र विधि सम्वत जग्गा भाडामा लगाइएको उल्लेख छ । संस्थालाई हानी हुने र व्यक्तिलाई लाभ पुग्ने गरी पूर्वाग्रही भएर जग्गा भाडामा लगाउने मनसाय नराखिएको स्पष्ट पार्दै जग्गा भाडामा लगाउने प्रक्रियाको सुक्ष्म ढंगले छानबिन गरी कानुनी रुपमा त्रुटि देखिए तत्काल खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेको जानकारी गराउँदै जिसीले निवर्तमान अध्यक्षको हैसियतले पूर्ण सहयोग रहने प्रतिवद्धता विज्ञप्तिमा व्यक्त गरेका छन् ।

‘पोखरा महानगरको प्रमुख र समितिको अध्यक्ष हुँदा पोखरा र पोखरेली जनताको अहित हुने गरी कुनै निर्णय र काम नगरेको बताउँदै यो अवधिमा भएका कामको पोखरेली जनताले मूल्यांकन गर्नुभएकै छ, र अब पनि गर्नुहुनेछ ।’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

You may also like