पोखरा । पोखरामा एनएमबी बैंकको एटिएम फोडेर रकम चोर्ने युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले रूपन्देही बेलहिया (नेपाल-भारत सीमा नजिक) बाट भारततर्फ जाँदै गरेको अवस्थामा भदौ २ गते युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्वी नवलपरासी जिल्ला देवचुली न.पा.५ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३० डुँडाको मुख बस्ने २१ वर्षको अनिस तामाङ रहेका छन् । पोखरा महानगरपालिकाको लेखनाथको अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोडेर रकम चोरी गरेको १ महिनापछि लेखनाथ तामाङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको साउन २ गते राति पोखरा ३० मा रहेको एनएमबि बैंकको एटीएम मेशिन फोडेर १५ लाख रुपैयाँ रकम चोरेका थिए । उनले सोही राति एनआइसी एशिया बैंकको एटीएम मेशिन पनि फोड्ने प्रयास गरेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए । दुवै घटनामा एउटै व्यक्तिको हुलियार सो घटनामा ग१०प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेटसमेत प्रयोग भएको देखिएको थियो ।
प्रहरीले तामाङको साथबाट पैसा राख्ने कालो बक्स १ थान, चोरी गर्न जानु पूर्व लगाएको सिल्भर रंगको हेल्मेट १ थान, पछाडी पट्टी EMBRACE लेखेको चोरी गर्दा लगाएको कालो सर्ट १ थान, कन्भर्स जुत्ता सेतो लेश भएको १ जोर, कालो ट्रयाक १ थान, I-PHONE XS MAX मोवाईल १ थान, Iteal मोबाईल १ थान मात्र बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी तिवारीले जानकारी दिए ।