पोखरा, ८ भदौ ।
नेपाल पत्रकार महासंघ कास्कीले तीज विशेष कार्यक्रम गरेको छ । महासंघ कास्कीले हरितालिका तीजको अवसरमा कास्कीमा क्रियाशील पत्रकार महिलाबीच शुभकामना आदानप्रदान गर्दै दर खुवाउने कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले सञ्चार क्षेत्रमा महिलाको सहभागिता भएपछि महिलाको मुद्दा बाहिर ल्याउन सहज हुने बताइन् । सरकारले महिलाको लागि कोटा निर्धारण गरे पनि भनेजति अझै सहभागिता नरहेकाले महिला पत्रकारलाई यस्ता विषयमा कलम चलाउन सुझाव दिइन् । स्वास्थ्य क्षेत्रमा महिलाहरु पछि परेका कारण प्रदेश सरकारले महिलाको स्वास्थ्य सुरक्षाका लागि विविध कार्यक्रम ल्याएको उनको भनाइ थियो । प्रदेशले पाठेघरको क्यान्सर भएकालाई निशुल्क उपचारदेखि सहिद, अपांग र बेपत्ताका परिवारलाई निशुल्क उपचारको प्रबन्ध मिलाएको उनले जानकारी दिइन् । पत्रकारका लागि कोरोना विरुद्धको खोप र स्वास्थ्य बिमाका लागि मन्त्रालयको समन्वयमा गरेको उनको भनाई थियो ।
पत्रकार महासंघ कास्की कार्यावाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना सबैलाई तीजको शुभकामना व्यक्त गर्दै महासंघले संस्कार र संस्कृति जगेर्ना गर्दै विभिन्न कार्यक्रम गर्दै आएकाले नारीहरुको शक्तिको प्रतीकका रुपमा कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रम संयोजक तथा संघकी उपाध्यक्ष जमुना वर्षा शर्माले चाडपर्वको अवसरमा बाँडिएको शुभकामनाले सबै दिदीबहिनीहरुमा कमल चलाउने आँट साहस बटुल्न आग्रह गरिन् । सञ्चार क्षेत्रमा भएको दमन र सामाजिक हिंसाविरुद्ध सधैं डटेर लाग्न उनको सुझाव थियो । प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले महिला पत्रकारहरु अझै मिडिया क्षेत्रमा खुलेर लाग्न नसकेको बताइन् । आफ्नो हक अधिकारका लागि पनि महिलाहरु यस क्षेत्रमा लाग्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र बास्तोला, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा, सञ्चारिक समुह, गण्डकी अध्यक्ष कविता श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।