पोखरा,१० भदौ
तमु धिं नेपाल केन्द्रिय आमा समितिको शुक्रवार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको प्राङ्गणमा नवौं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नु हुदै संस्था,समाज र मुलुक नै हाँक्ने गरी आमाहरुले नेतृत्व विकास गर्नुपर्ने बताउनुभयो। मुलुक पितृसत्तात्मक भए पनि तमु समुदायमा मातृसत्ता रहेकाले अब आमा दिदिबहिनीहरु परिवारबाट माथि उठेर नेतृत्व विकासमा जोड दिनुपर्ने उहाँको आग्रह थियो। आमा समितिले विगतमा अत्यन्तै उदाहरणीय रुपमा आमा दिदिबहिनी संगठित गर्ने, मासिक रुपमा चेतनामुलक, उद्यमशीलताको विकास, सेवामुलक कार्यक्रम गर्दै आएकोमा प्रसंसा गर्नुहुदै आगामी दिनमा पनि आमाहरुले समाजलाई मार्गनिर्देशन गर्ने उहाँको विश्वास थियो।
कार्यक्रममा पैयुँखोला तमु समाजका सचिव अनरेरी लेप्टिनेण्ट रनबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु आमाहरुको क्रियाशिलता र तमु धिं नेपालद्धारा आयोजित ट्होटें पर्वमा राष्ट्रप्रमुख नै तमु धिं आगमनले तमुहरुको छाती गर्बिलो बताउनुभयो।
कार्यक्रममा सम्मानितहरु हिमाली गुरुङ परिवारकी शान्ति घले, बाँझापाटन तमु समाजकी युमाया गुरुङ, आमा समितिकी संस्थापक उपाध्यक्ष मिश्री गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै तमु धिं नेपाल केन्द्रिय आमा समितिको गतिविधी र भुमिकाको प्रसंसा गर्नुभएको थियो।
कार्यक्रममा तमु धिं नेपाल कार्यसमिति सदस्य एवम प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङ तमु कलाकार संघ गण्डकी प्रदेश समितिको पुनः अध्यक्षमा सम्मानित हुनुभएकोमा, तमु धिं नेपाल युवा समिति संयोजक रमेश गुरुङ अन्नपुर्ण गाउपालिका वडा नंं.९ को वडाध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई एवम सम्मान गरिएको थियो।
यसरी नै आमा समितिले वर्षभरमा हिमाली गुरुङ परिवारकी शान्ति घलेलाई उत्कृष्ठ सदस्य, बाँझापाटन तमु समाज आमा समितिलाई उत्कृष्ठ आमा समिति, आमा समितिकी संस्थापक उपाध्यक्ष मिश्री गुरुङलाई सक्रिय जेष्ठ आमाबाट सम्मान गरिएको थियो।
यसरी नै नवनिर्वाचित जोगीमणी तमु समाजको आमा समितिलाई बधाई एवम स्वागत र कार्यसमितिकी सदस्य छली गुरुङलाई धन्यवादसहित विदाई गरिएको थियो।
साधारणसभामा आमा समितिकी सचिव बालकुमारी गुरुङले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
कार्यक्रममा याङ्जाकोट तमु समाज आमा समितिले स्वागत गीत, गायिका प्रिया गुरुङले गीत र सिद्धार्थ तमु समाज आमा समितिबाट नृत्य प्रस्तुति गर्दै मनोरञ्जन दिलाएका थिए।
तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष ऐनशोभा गुरुङ र संचालन सहसचिव बालकुमारी गुरुङले गर्नुभएको थियो।