११ भदौ , शनिबार
लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत शनिबारदेखि लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल पुलिस विजयी हुँदा अर्को खेल स्थगित भयो ।
नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा भदौ १२ देखि १४ सम्म आयोजना गरेको २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ को पूर्वसन्ध्यामा भलिबल प्रतियोगिता सुरु भएको हो ।
चार दिनसम्म चल्ने प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटले पराजित गरेको छ । पहिलो सेटमा २८–३० मा पराजित भएकोमा पुलिसले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला सेट आफ्नो पक्षमा पारेको हो । पुलिसले दोस्रो सेटमा २५–१२ को जीत निकालकोमा तेस्रो सेट उस्तै २५–१२ निकाल्यो भने अन्तिम सेटमा २५–१७ को अन्तर कायम गरेको थियो ।
यसैगरी त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको टिम बिच भएको अर्को खेल लाइट नपुग्दा प्राविधिकरणवश दुवै टिमको सहमतिमा भोलीसम्मका लागि स्थगित भएको छ । पहिलो सेट भने आर्मीले ३१–२९ को जित निकालेको प्रतियोगिता संयोजक शुसिलकुमार श्रेष्ठले बताए ।
बिगतमा महिला भलिबल मात्र हुँदै आएकोमा यस पालि पुरुष राष्ट्रिय भलिबल पनि थपिएको हो । खेल लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भएको छ । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमले भाग लिएका छन् । महिलातर्फ सशस्त्र प्रहरीको टिम अन्तिम समयमा सहभागी भएन ।
महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् भने पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिएका छन् ।
आइतबार बिहान पहिलो खेल पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लब र सशस्त्र प्रहरी बल बिच हुनेछ ।
भबिलल प्रतियोगितामा महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।
२०५४ सालमा स्थापित नव आदर्श सामुदायिक विकास समाजले हरेक वर्ष तीज अवसरमा लामाचौर तीज महोत्सव आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार महोत्सव उद्घाटन गर्नेछन् भने अन्तिम दिन पूर्व प्रधानमन्त्री प्रचण्डको उपस्थिति हुने छ । महोत्सवको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।
महोत्सवमा अन्तर महिला समूह तीजगीत प्रतियोगिता, पवित्रा गणेश अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, नरबहादुर बानियाँ स्मृति प्रदेशस्तरीय सितेरियो कराते प्रतियोगिता, स्रष्टा सम्मान, बाल उद्यान, औद्योगिक तथा विभिन्न व्यापरिक स्टलहरु, झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको दैनिक प्रस्तुति लगायत आकर्षण रहेका छन् । महोत्सवमा विभिन्न प्रकारका करिब ५० स्टल रहेको सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
महोत्सवको अवसरमा शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।
महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान छ । सामाजिक कार्यमा समेत क्रियाशील नवआदर्श सामुदायिक विकास समाजले महोत्सव संचालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको र यसपालि डेढ लाख थप गर्ने लक्ष्य लिएको जनाएको छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर हो । देशविदेशमा गरी विभिन्न प्रायोजकले हालसम्म ४८ लाख रुपैयाँ सहयोगको बोलकबोल गरिसकेको आर्थिक संयोजक दिलबहादुर थापाले बताए ।