१२ भदौ , आईतबार
२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ आजदेखि सुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ १२ देखि सुरु महोत्सव भदौ १४ सम्म चल्नेछ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता, अन्तर महिला समूह तीजगीत प्रतियोगिता, पवित्रा गणेश अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, बाल उद्यान, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरु, झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको दैनिक प्रस्तुति रहेका छन् । महोत्सवमा विभिन्न प्रकारका करिब ५० स्टल रहेका छन् ।
तीजको संस्कृति रक्षा सहित समग्र लामाचौर क्षेत्रको विकासका लागि आफूहरुले महोत्सवलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।
२०५४ सालमा स्थापित नव आदर्श सामुदायिक विकास समाजले हरेक वर्ष तीज अवसरमा लामाचौर तीज महोत्सव आयोजना गर्दै आएको छ । कोरोनाका कारण गएका वर्ष महोत्सव प्रभावित भएको थियो । यसपालि संस्थाको रजत जयन्ती अवसरमा भएकोले पनि संस्थाले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्दै नवआदर्श सामुदायिक विकास समाजले खेलकुद क्षेत्रमा पु¥याएको योगदानको प्रसंसा गरे । उनले राज्यले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै महिला खेलाडी उत्पादनमा यसको योगदान ठूलो रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुस्पेन्द्र पाण्डेले संस्थाको योगदानको उच्च प्रशंसा गर्दै वडाबाट हुन सक्ने सहयोग गर्न सधै तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका पूर्व अध्यक्ष तथा खेलकुद उपसमिति संयोजक सुशीलकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सचिव थिरबहादुर थापाले गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्था अध्यक्ष रेश्मा शेरचन अधिकारीले गरेकी थिइन् ।
सो अवसरमा संस्थाले पूर्व उपाध्यक्ष रवी मान सिंह भण्डारी, पुर्व सदस्यहरु सुरज नेपाली, भरत थापा, डम्बर मान सिह थापा, संस्थाको भवन निर्माण समिति रहेर सहयोग गर्ने पूर्व अध्यक्ष बुद्धि बहादुर खत्री क्षेत्री, उदबहादुर भण्डारी आदिलाई पनि सम्मानपत्र, दोसल्ला सहित गरेको छ ।
महोत्सवमा आयोजित अन्तर महिला समूह तीजगीत प्रतियोगिता आइतबारदेखि नै सुरु भएको छ । प्रतियोगितामा १८ वटा आमा समूहले भाग लिएका छन् ।
यसैगरी, पवित्रा गणेश अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा महोत्सवको दोस्रो दिन सोमबारदेखि सुरु हुने महोत्सवका साँस्कृतिक उपसमिति संयोजक कमलबहादुर थापाले जानकारी दिए । लोकनृत्यमा जम्मा १६ जनाले भाग लिएका छन् ।
सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले महोत्सवको अवसरमा शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने छ ।
महोत्सवका अन्तिम दिन पूर्व प्रधानमन्त्री प्रचण्डको उपस्थिति हुने छ ।
महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने अनुमान आयोजकको रहेको आर्थिक संयोजक दिलबहादुर थापाले बताए । सामाजिक कार्यमा समेत क्रियाशील नवआदर्श सामुदायिक विकास समाजले महोत्सव संचालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको र यसपालि डेढ लाख थप गर्ने लक्ष्य लिएको छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर हो ।