Home » सेराबेँसीको तीजगीत प्रतियोगितामा हिमालय आमा समुह प्रथम

सेराबेँसीको तीजगीत प्रतियोगितामा हिमालय आमा समुह प्रथम

by Pokhara City

पोखरा, १५ भदौ

शिवशक्ति महिला समुह तथा हिमचुली युवा क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेँसीद्वारा आयोजित खुल्ला तीजगीत प्रतियो्गितामा हिमालय आमा समुह खुदीखोला प्रथम भएको छ ।
प्रतियोगितामा कर्पाकेली पुन मगर समाज, शुनपा–२ एक्लेखेत द्वितीय र गायत्री आमा समुह पोखरा–३२ स्कुल टोल तृतीय भएका छन् । त्यस्तै शान्ति महिला विकास समुह शुनपा–१ सेराबेशीले सान्त्वना स्थान प्राप्त गरेको छ भने उत्कृष्ट नृत्यतर्फ दिदी बहिनी समुह पोखरा–३२ तल्लो गगनगौंडा विजयी भएको छ ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय, सान्त्वना र उत्कृष्ट नृत्य विजेतालाई क्रमशः १५ हजार, १० हजार, पाँच हजार, तीन हजार र एक हजार ५०० नगद सहित प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले हाम्रा मौलिक संस्कृतिहरू जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । यस क्षेत्रको विकासमा आफ्नातर्फबाट सदैब सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख खुमबहादुर विक(राजु), शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेल, २ का वडा अध्यक्ष सुमन रानामगर लगायतले तीजको महत्वबारे प्रकाश पार्नुभयो ।
शिवशक्ति महिला समुहका अध्यक्ष उमा पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक एवम् हिमचुली युवा क्लबका अध्यक्ष बाबुराम वाग्ले, समाजसेवी डिल्लीराम अधिकारी, वडा सदस्य लक्ष्मीदेवी भण्डारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमका लागि शुक्लागण्डकी नगरपालिका र वडा नं १ कार्यालयले क्रमशः २५÷२५ हजार रुपैयाँ सहयोग गरेका थिए भने अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाबाट करिब एक लाख ५० हजार रुपैयाँ संकलन भएको सचिवालय संयोजक ठाकुरप्रसाद खनालले जानकारी दिनुभयो ।

You may also like