१४ भदौ , मङ्गलबार ।
२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ न्यु डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनल पुगेको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पक्षमा पारेको हो । पहिलो सेटमा विभागीय आर्मी २८–२६ ले विजयी भएको थियो । पछिल्ला तीन सेट भने पुलिसले २७–२५, २५–११ र २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो ।
दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेटमा भने निकै संघर्षपूर्ण जित हासिल गरेको थियो । दोस्रो सेट २६–२४ ले जित्न सफल भएकोमा तेस्रो सेट २५–११ ले जित्दै लगातार आठौं पटक फाइनल पुगेको हो । प्रतियोगितामा डायमण्डकै रीमा कुँवर वुमन अफ दि म्याच बनिन् ।
पुरुषतर्फ भएको प्रतियोगितामा गण्डकी प्रदेशको टिम फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा विभागीय सशस्त्र प्रहरी बलको टिमलाई ३–२ सेटले हराउँदै गण्डकीले संघर्षपूर्ण जित हात पारेको छ । पहिलो र दोस्रो सेट गुमाएको गण्डकीले पछिल्ला सेटमा संघर्षपूर्ण जित हासिल गरेको हो । पहिलो र दोस्रो सेट समान २२–२५ भएकोमा तेस्रो सेटमा गण्डकीले २५–२३ ले जितेर खेलमा फर्किएको थियो । चौथो सेट २५–१६ र अन्तिम सेट १७–१५ मा जितेको हो ।
दोस्रो सेमिफाइनल भने वर्साले स्थगित हुन पुगेको छ । विभागीय टिमहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका प्रतिस्पर्धामा रहेकोमा पहिलो सेट नसकीदै ठूलो पानी परेको थियो । स्थगित भएको खेल बुधबारमा बिहान हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले जानकारी दिइन् ।
बुधबार नै फाइनल खेल हुनेछ । त्यसअघि तेस्रो स्थानका खेल हुने आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ । तिज पर्व पनि भएकोले खेल हेर्न दर्शकको खचाखच भिड रहेको प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले बताए ।
महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
यसैबीच, लामाचौर तीज महोत्सव–२०७९ को औपचारिक रुपमा समापन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महोत्सव समापन गर्दै खेल तथा विकास निर्माणमा नवआदर्शको योगदान ठूलो रहेको बताए ।
संस्थाको रजत जयन्ती अवसर भएकोले सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो भने अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा प्रथम हुने मेरिगोल्ड बोर्डिङ प्रथम र अन्तर महिला तीजगीतमा प्रथम इन्द्र राज्य लक्ष्मी माविलाई पुरस्कार वितरण गरिएको थियो ।
अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ प्रथम, सूर्योदय बोर्डिङ दोस्रो, कास्की मोर्डनाइज्ड तेस्रो भएको हो । कुमुदिनी होम्स र बाल कल्याण सान्त्वना भए । प्रतियोगितामा १६ विद्यालयले भाग लिएको संस्थाका द्वितीय उपाध्यक्ष दिनेश भण्डारीले बताए । १८ टिमले भाग लिएको अन्तर महिला तीजगीतमा इन्द्र राज्य लक्ष्मी मावि प्रथम, उपकार आमा समूह दोस्रो, सफल उद्यमी महिला समूह तेस्रो र शिवालाय तमु आमा समूह सान्त्वना भएका हुन् ।
अन्तिम दिन भागिरथ चलाउने, शिला आले, ज्योति लोहनी, रामजी पौडेल, लक्ष्मी नेपाली, दीपक खड्का लगायतका कलाकारले प्रस्तुति राखेको प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष स्वागतसिंह भण्डारीले स्वागत तथा संचालन सचिव थिरबहादुर थापा र सहसचिव तेजप्रसाद अधिकारीले गरेका थिए । कोरोनाका कारण दुई वर्षसम्म महोत्सव हुन नसके पनि अहिलेको महोत्सवमा तीजको दिन वर्षाका बीच पनि दर्शक ओइरिएका थिए ।