Home » पोखरामा आयोजना हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका १३ सय खेलाडी सहभागि हुने

पोखरामा आयोजना हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका १३ सय खेलाडी सहभागि हुने

by Pokhara City

पोखरा, २४ भदौ

पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका १ हजार ३ सय जना खेलाडीहरु सहभागि हुने भएका छन्।

आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो । दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी ¥याकिङ जुनियर तथा सिनियर र पुम्से प्रतियोगिताका लागि खेलाडीहरुको दर्ता हिजो विहिबार बाटै रोकिएको अध्यक्ष गुरुङले बताए । पोखरा रंगशालामा खेलाडीहरुको लागि आवश्यक पर्ने एरिना सानो र थोरै दर्शक क्षमता भएको कारणलो गर्दा पनि दर्ता ४ दिन अघि नै स्थगित गर्न परेको उनले जनाए ।

अध्यक्ष गुरुङले भने–“हामीले १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका थियौं एरिनाको कारण १ हजार ३ सय जना मात्र खेलाडीहरु मात्र सहभागि गराउन बाध्य हुने भएका छौं, दर्शकहरुलाई भने निःशुल्क रुपमा हामीले पास उपलब्ध गराउने छौं ।”

कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने दाबी गर्दै उनले उक्त कार्यक्रमबाट पोखरा क्षेत्रमा करिब १५ करोड मुल्य बराबरको कारोवार हुने जनाए ।

उक्त प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरू सहित २ हजार भन्दा बढीको सहभागीता हुने जनाइएको छ । विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएकोे संघका केन्द्रिय महासचिव दीपराज गुरुङले बताए ।

यस अघि दुई पटक सफलता पूर्वक काठमाण्डौमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो । पोखरा रंगशालास्थित वहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको प्रतिष्पर्धा हुने भएको छ ।

विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्विकृती प्रदान गरेको र उक्त मेगा तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिव रु २ करोड ५५ लाख खर्च हुने संघ गण्डकीका सचिव रमेश पौडेलले जनाए ।

You may also like