सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९’बाट पत्रकार नारायण शाही आज सम्मानित भएका छन्।
पुरास्कारका संस्थापक सहारा क्लबले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९’बाट पत्रकार नारायण शाहीलाई आज सम्मानित गरिएको हो।
२०६४ सालदेखि पोखरामा रहेर सक्रिय पत्रकारिता गरिरहेका पत्रकार शाहीलाई आज पोखरा महागरपालिकाका मेयर धनाराज आचार्यले सम्मानित गरे। पुरस्कारको राशि २० हजार पाँचसय ५५ रुपैयाा नगद सहित दोसल्ला र ताम्रपत्र रहेको छ।
सही अवसरमा क्लबको मानार्थ सदस्यबाट बरिष्ठ पत्रकार नारायण कार्की र उत्कृष्ट सदस्यबाट सिद्धार्थ थापा मगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा महानगरप्रमुख आचार्यले सामाजिक सेवा एवम् खेलका माध्यमबाट सहारा क्लबले पुर्याएको योगदानको प्रशंसा गरे।
कार्यक्रममा बरिष्ठ पत्रकार नारायण कार्की, सम्मानित व्यक्तित्व नारायण शाही, बरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव रामजीप्रसाद अधिकारी, गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले सहारा क्लबले चलाएको एकेडेमी अरुका लागि पनि अनुकरणीय भएको बताएका थिए।
काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका पत्रकार शाही करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारित गरिरहेका छन्। आमसंचार बिषयमा स्नातकोत्तर गरेका उनी हाल जनसम्मत डटकम अनलाइनको सम्पादक रहेका छन् भने पोखरामा प्रशारण भैरहेको एभरेस्ट आवाज एफएममा समेत कार्यरत छन्।
सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १६ जना सम्मानित भइसकेका छन्। सम्मानित हुनेमा कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार हुन् ।