Home » कास्की २ का गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रम

कास्की २ का गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रम

by Pokhara City

पोखरा ।
कास्की २ का गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको परिचय कार्यक्रम सम्पन्न भएको हो ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं २(ख) मा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसबाट विन्दु कुमार थापाले उम्मेदवारी दिएका छन् ।

तीनै नेताले शनिबार आयोजित उम्मेदवार परिचय तथा निर्वाचन प्रचारप्रसार समिति घोषणा कार्यक्रममा आफ्नो प्रतिबद्धता प्रस्तुत गरे । प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनाथ बरालले संविधान जोगाउनका लागि र संसदको संरक्षणका लागि पाँच दलीय गठबन्धनको आवश्यकता परेको बताए । उनले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरु काबिल भएको उल्लेख गरे । उनले प्रतिनिधि सभा सदस्यमा आफुलाई विजयी गराए शिक्षा,स्वास्थ्य,पर्यटन र रोजगारीमा देखिएका समस्यालाई समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे । गठबन्धनलाई मत नदिए महत्वपूर्ण ऐन कानून बन्ने कुरामा असर पुग्ने अभिव्यक्ति उनको थियो । ‘यहाँहरुको सेवकको रुपमा चुनावी मैदानमा होमिएको छु, निर्वाचित भएपछि कास्की २ को मुहार फेर्ने गरी लाग्ने प्रण गर्दछु ।’, उनले भने ।

कास्की २ (ख) मा प्रदेश सभा सदस्यका रुपमा नेपाली काँग्रेसको तर्फबाट गठबन्धनका साझा उम्मेदवार विन्दु कुमार थापाले २०७४ सालको निर्वाचनमा जस्तै यसपाली पनि मतदाताहरुले साथ दिने अपेक्षा व्यक्त गरे । ‘५ वर्ष अगाडि यसरी नै तपाइहरु माझ आफ्ना प्रतिबद्धताहरु प्रस्तुत गरेको थिए । जसलाई अनुसरण गर्दै निर्वाचित भएपछि पनि निरन्तरको जनताको सेवामा समर्पित भइनैराखे । बितेको ५ वर्षले धेरै विषयको अनुभव लिने अवसर मिल्यो । केही सपना पूरा भए भने केही अझै बाँकी नै छन् । समग्र प्रदेश बनाउन तीनै अधुरा सपनालाई पूर्ण गर्न फेरि कास्की २(ख) मा प्रदेश सभा सदस्यका रुपमा चुनावी मैदानमा होमिएको छु । आशा सबैले विश्वास गर्नुहुनेछ ।’, उनले भने ।

गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका थापाले संघीय गणतान्त्रिक व्यवस्थालाई स्थायित्व प्रदान गर्न गठबन्धनको आवश्यकता परेको उल्लेख गरे । गठबन्धनका सम्पूर्ण साझा उम्मेदवारहरुलाई अत्याधिक मत सहित विजयी बनाउन आग्रह गरेका छन् ।
कास्की २(क)मा प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दिएका नेकपा माओवादीका नेता विश्वप्रकाश लामिछानेले समाज रुपान्तरणका लागि आफ्नो उम्मेदवारी भएको बताए । उनले बेथितिको अन्त्यका लागि आफुलाई जनताले मत दिने विश्वास लिए । गण्डकी प्रदेशको राजधानी पोखरालाई अन्तराष्ट्रिय शहरका रुपमा विकास गर्न सहज नीति निर्माणको आवश्यकता रहेकाले त्यसको परिपूर्तिमा आफ्नो भूमिका महत्वपूर्ण रहने भनाई उनको थियो ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष डा. विजय कँडेलले देशमा कृषि बजारीकरणको आवश्यकतालाई जोड दिएका छन् । उत्पादित वस्तुहरु नष्ट गर्नुभन्दा त्यसको ब्राण्ड तर्फ लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए । जसलाई एकीकृत समाजवादीले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको उनको भनाई थियो ।
कार्यक्रममा नेकपा माओवादीका नेता राजकाजी गुरुङ लगायतले बोलेका थिए ।

You may also like