पोखरा ३० असोज
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ ।
पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
महिला हडल्मा यस स्पर्धामा एपीएफकी भागीरथी थारुले १ मिनेट ०६.०६ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने, एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेन्डमा उक्त दुरी पार गरिन् ।
यसैगरी एथलेटिक्स पुरुषतर्फ १० हजार मिटरमा आर्मीकै दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जितेका हुन् । दीपकले एपीएफका गोपीचन्द्र पार्कीको कीर्तिमान तोड्दै आफ्नो नामका नयाँ कीर्तिमान खडा गरेका हुन् ।
गोपीको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो । गोपीले भने रजतमा चित्त बुझाए । उनले उक्त दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरे ।
आर्मीकै गजेन्द्र राइले काँस्य पदक जिते । उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।