वक्ताहरु भन्छन्, ‘मौसमी खेती जस्तो १६ दिने अभियानले पुग्दैन, ३६५ दिनै आवाज उठाउनु पर्छ’
पोखरा, मंसिर २१ गते ।
‘सभ्य समाजको पहिचान ः लैगिंक हिसां विरुद्ध’को १६ दिने अभियान अन्तर्गत १३ औं दिन आज (बुधबार) पोखराको राष्ट्रबैंक चोकमा अवस्थित रेडियो बाराही ९९.२ मेगाहर्जको प्राङगणमा लैङ्गिक हिंसा न्युनिकरणमा मिडिया र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न संघसंस्थामा आवद्ध भई लामो समयदेखि कार्यरत रहेका व्यक्तित्वको सहभागिता रहेको थियो ।
सहभागी वक्ताहरुले लैङ्गिक हिंसा न्युनिकरणका लागि सर्वप्रथम समाजका सम्पूर्ण नागरिकमा सकरात्मक चेतनाको विकास हुनुपर्ने र त्यसका लागि मिडिया र सरोकारवाला संघसंस्थाले तीव्र सचेतना फैलाउनु पर्नेमा जोड दिएका थिए ।
वक्ताहरुले लैङ्गिक हिंसा निमित्यान्न पार्नका लागि मौसमी खेती गरेजस्तो १६ दिने अभियान मात्र गरेर नहुने भन्दै ३६५ दिन नै हिंसा विरुद्ध आवाज उठाउनुपर्ने र चेतना मुलक कार्यक्रम गर्नुपर्ने बताएका छन् ।
हिंसाको ‘कज रुट’(प्रमुख कारण) पत्ता लगाउन सकेमात्र यसलाई न्युनिकरण गर्न र निर्मुल पार्न सकिने भनाई राख्दै यसका लागि मिडिया, सरोकारवाला निकाय, प्रहरी प्रशासन, मनोपरामर्श विद् सबैको सहकार्य आवश्यक पर्ने उनीहरुको भनाई थियो ।
गैह्रसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले लैगिंक हिंसा बढ्नुमा मुख्य त राज्य दोषी रहेको गुनासो गर्नुभएको थियो । राज्य र राजनीतिक नेतृत्वका व्यक्हिरुले आफुहरुको मात्र स्वार्थ परिपूर्ति गर्नतर्फ लाग्दा देशमा हिंसा बढ्दै गएको तर्क राख्दै कानुन भएता पनि कानुनको कार्यान्वयन भने नभएको सुवेदीको ठम्याई थियो ।
अन्तरसंवादमा सहभागी जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक(महिलासेलकी) समिक्षा घिमिरेले कास्कीमा श्रीमानबाट कुटपिट भएको भन्दै दैनिक कम्तिमा ३,४ केस आफूहरु कहाँ आउने गरेको बताउनुभयो । प्रेममा पर्ने र फिजिकल रिलेसनमा बस्ने छुटेपछि त्यसलाई बलात्कारको उजुरी दिन आउनेको संख्या पनि उत्तिकै बढ्न थालेको भन्दै सानो उमेरमा परिवारलाई थाहा नदिई बिहे गर्ने परिवारले थाहा पाएपछि छुटाउन खोजे सुसाइड एटेम्ट गर्ने जस्ता केसहरु बढ्न थालेकाले सचेतना मुलक अभियान कार्यक्रम या विद्यालयमा यस्ता खालका विषयलाई समावेश गरि चेतना फैलाउन आवश्यक रहेको प्रहरी निरीक्षक घिमिरेको भनाई थियो ।
कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले लैङ्गिक हिंसा न्युनिकरणमा मिडियाको भुमिका मुख्य रहेको बताइरहँदा मिडियामा कार्यरत कर्मचारीले आफैले सर्वप्रथम आफुमाथि हिंसा भएको छैन भनेर महसुस गर्न सक्नुपर्नेमा जोड दिनुभएको थियो । तब मात्र मिडियाकर्मीले समाजमा भएका हिंसा न्युनिकरणमा आवाज उठाउन सक्ने उहाँको भनाई थियो ।
कास्की जस्तो जिल्लामा पनि विभिन्न हिंसाका मुद्धा ४÷५ लाख पैसा दिएर मिलाइने गरेको घटनाहरु बाहिर नआउनु दुखद भएको भन्दै कतिपय हिंसाका घटना मिडियाले उजागर गरे पनि प्रहरी कहाँ पुग्दा ती घटना त्यही सेलाउने, अदालतमा पुगेको केस पैसाले मिलाईदा हिंसामा परेकाले न्याय पाउन नसकेको र हिंसा न्युनिकरणमा चुनौती थपिएको उहाँको भनाई थियो ।
सोही अन्तरसंवाद कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्माले हिंसाका समाचार प्रकाशन तथा प्रसारण हुने तर हिंसा गर्नेलाई भएको कारबाहीका बारेमा समाचार सम्प्रेषण कम हुदाँ पनि हिंसा गर्नेहरु हौसिने भएकाले हिंसा बढ्ने गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा रेडियो बाराहीका निर्देशक किरण के.सीले हिंसा न्युनिकरणका लागि पहिले आफैंलाई सही मार्गमा हिडाउनु पर्नेमा जोड दिनुभयो ।
लैगिंक हिंसामा मुख्यतः महिला हिंसाका घटना बाहिर आउने गरेको भन्दै उहाँले महिलालाई हिंसा गर्नु भन्दा पनि शक्तिको रुपमा लिन सके परिवार असल हुने र समाजका एक एक परिवार असल हुन सके समाज त्यसै असल र हिंसामुक्त समाज बन्ने भनाई राख्नुभयो ।
केसीले ध्यान र आध्यात्मले पनि हिंसा न्युनिकरणमा मद्दत पुग्ने भन्दै आध्यात्मले थर्ड आई(तेस्रो आँखा) अर्थात सकरात्मक चेतना अभिवृद्धि गर्ने भएकाले हिंसा न्युनिकरणमा सहयोग पुग्ने उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी गण्डकी प्रमुख मायादेवी शर्मा, एडभोकेसी फोरमकी कुन्जनी परियार, इन्सेक पोखराका शिव खकुरेल, महिला मानव अधिकार संजालकी केशु भूजेल, चिल्ड्रेन नेपालकी यशोदा पौडेल, एनजिओ फेडेरेसन कास्की अध्यक्ष तथा विकास नेपालका अध्यक्ष डा.बुद्धी थापाले महिला हिंसासँगै समाजमा हुने अपराधिक घटनाको बारेमा बिश्लेषण गर्दै सो घटनालाई न्युनीकरण गर्न हरेक निकायबाट आफ्नो भुमिकालाई सशक्त ढंगले लैजानु आजको मुख्य उद्धेश्य रहेको भनाई राख्नुभएको थियो ।
यस्तै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, संचारिका समुह कास्कीकी अध्यक्ष कविता श्रेष्ठ, दलित महिला संघ कास्कीकी इश्वरी वि.क, महिला मञ्च कास्कीकी मना सेरचन, थ्रिएन्जल नेपालका रमेश पाण्डे लगायतले महिलाको हिंसा सम्बन्धित सवाल सँगै हरेक बिषयबस्तु घर हुदै विद्यालय स्तरमा अध्ययन गराईनुपर्ने भन्दै समाजले स्वीकार गर्न खोज्ने तर व्यवहारमा कार्यान्वयनमा ल्याउन नखोज्ने प्रविधि पनि निष्क्रिय पारिनुपर्ने उहाँहरुको भनाई थियो ।
रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै रेडियो बाराहीले लैगिंक हिसांका मुद्धालाई सेन्सेटिभ भएर उजागर गरेको र यस्ता हिंसाका विरुद्ध आवाज उठाइरहेको बताउनुभयो ।
मंसिर ९ गतेदेखि देशभर सुरु भएको लैगिंक हिसां विरुद्ध’को १६ दिने अभियान मंसिर २४ गतेसम्म चल्नेछ ।