Home » व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग

व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग

by Pokhara City

पोखरा, १९ चैत

पोखरा उद्योगी/व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहोर्‍याएका छन् । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार/व्यवसाय नै ठप्न हुनेगरी न्यूरोडलगायतका क्षेत्रको सडक खाली गराउन नहुने जिकिर पनि गरेका छन् ।
पोखरा महानगरपालिकाले न्यूरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उनीहरुको यो भनाइ बाहिर आएको हो । पोखरा उद्योग वाणिज्य संघले आइतबार पोखराको ट्राफिक व्यवस्थापनबारे आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले ट्राफिक प्रहरीको व्यवहार,सडक सुरक्षा एवं पार्किङ व्यवस्थापनबारे विभिन्न धारणाहरु राखेका थिए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले यातायात क्षेत्र व्यवस्थित हुनु्पर्नेमा दुईमत नभए पनि नागरिकलाई अप्ठेरो पार्ने काम हुन नहुनेमा जोड दिए । उनले यातायात व्यवस्था कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीलाई केन्द्रमा राख्दै व्यवहारिक निर्णय गर्नुपर्ने बताए ।
यातायात व्यवस्था कार्यालय कास्की ९ सवारी० का प्रमुख डिल्लीराम रिजालले आफ्नो कार्यालयले १५ मिनेटभित्र सेवाग्राहीलाई सेवा दिने गरेको जिकिर गरे । नागरिकहरुले यातायात कार्यालयलाई घुस दिने थलोको रुपमा बुझ्ने गरेको स्वीकार्दै उनले भने,‘कतिपय अवस्थामा विचौलियाको कारणले र बाँकी हल्लाको कारणले त्यस्तो मानसिकताको विकास भएको हो तर यातायात व्यवस्था कार्यालयले आफूलाई सुधार गरिसकेको छ ।’ उनले नियम मिच्ने अधिकार कसैलाई पनि नभएको तर पोखरामा दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनलाई सहज हुने गरी छत र ढोका राख्न दिएको जानकारी गराए । यसअघि व्यवसायीहरुले सामान ढुवानी गर्ने गाडीहरुको स्वरुप परिवर्तन गर्न पाउनुुपर्ने र त्यस्तोमा ट्राफिक प्रहरीले जरिवाना लिन नहुने माग गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर चन्दले पोखरामा पार्किङको समस्या चुनौतीपूर्ण हुँदै गएको,ट्राफिक लाइट राखेर पनि चलाउन हम्मे परेको बताउँदै सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनको लागि आफू क्रियाशिल रहेको बताए ।
सोही कार्यालयका वरिष्ठ सइ तथा प्रवक्ता शिवप्रसाद पाठकले पोखराका सवारी चालकहरुमा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति डरलाग्दो भएको बताए । उनले पछिल्लो समय न्यूरोडमा सवारी दुर्घटना बढेको स्वीकार्दै डिभाइडर राखेपछि न्यूनीकरण हुने जिकिर गरे ।
पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष देवेन्द्र केसीको धन्यवाद र महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा बोल्दै व्यवसायी मनोहर श्रेष्ठले पोखराको न्यूरोडमा पार्किङ गर्न पाउनुपर्ने माग जोडतोडले उठाए । उनले नगर बसहरुले सडककै बीचमा मान्छे झार्ने र ओराल्ने गर्दा दुर्घटनाको जोखिम बढेको उनको भनाइ थियो ।
अर्का व्यवसायी सिरोज कोइरालाले सहरमा मान्छेको आवागमन रोक्ने गरी नीति नियम बनाउन नहुने बताए । उनले संसारका ठूला सहरहरुमा पनि सडकको निश्चित भागमा पार्किङ हुने गरेको बताउँदै न्यूरोडबाट पार्किङ हटाउन नहुने जिकिर गरे ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले ट्राफिक प्रहरीले विभिन्न ठाउँमा भन्सारकै शैली चेकजाँच गर्ने र रकम बुझाउनेहरुलाई उन्मुक्ति दिने गरेको आरोप लगाए । अर्का कार्यसमिति सदस्य दीलिप श्रेष्ठले सामान ढुवानी गर्ने साधनहरुमा छत,ढोका राख्न पाउनुपर्ने र यसअघि भएका निर्णयहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिए । यस्तै कार्यसमिति सदस्य कृष्णप्रसाद कोइराला,राम कँडेल,सु्दीप ओझा, टीकाराम सुवेदी,युवकबहादुर बस्नेतलगायतले लेकसाइड क्षेत्रमा गरिने सवारी चेकजाँचले व्यवसायीहरुलाई त्रसित बनाइएको, फर्निचरका सामानहरु ढुवानी गर्दा ट्राफिकले दु:ख दिने गरेको,यातायात कार्यालयमा ढिलो काम हुने गरेकोलगायतका गुनासाहरु राखेका थिए ।

You may also like