पोखरा ।
पोखराको अग्रणी सामाजिक संस्था फूलबारी क्लब पोखरा ११ ले अधिवेशनको तयारी थालेको छ । पोखरा ११ फूलबारीमा मुख्य कार्यालय रहेको क्लबले सामाजिक सचेतना लगायत विभिन्न रचनात्मक कार्य गर्दै आएको जनाएको छ ।
क्लबले ३२ औं वार्षिक साधारण सभा तथा अधिवेशनको पूर्व सन्ध्यामा टेवल टेनिस प्रतियोगिता साउन ११ गते, पुन: निर्मित संस्कार सदन तदर्थ समिति गठन साउन १२ गते र १३ गते शनिबार विहान ८ वजेदेखि क्लबको सभाहलमा साधारण सभा गर्ने कार्यक्रम तय भएको क्लबका सचिव जनार्दन बास्तोलाले जानकारी दिए ।
साउन १३ गते शनिबार हुने अधिवेशन पूर्व क्लबले सरसफाई, क्लबले जगेर्ना गरेको बृक्षको गोडमेल तथा खेलकुद क्रियाकलापलाई जोड दिने भएको छ ।
क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाले क्लब साझा सम्पत्ती भएकाले सवैको एकमत हुनु पर्नेमा जोड दिएका छन् । अध्यक्ष बास्तोलाले क्लबमा अनुबन्ध भएका आजिवन सदस्य, मानार्थ सदस्य तथा साधारण सदस्यलाई उपस्थित भई धारणा राख्नसमेत आग्रह गरेका छन् । क्लबलाई सिंगो महानगरपालिकाको नमुना सामाजिक संस्थाकोरुपमा स्थापित गर्न हरेक तहसँगको हातेमालो आवश्यक भईरहेको अध्यक्ष हरिश्चन्द्रको भनाई छ ।
स्थानीय संस्कृतिको जगेर्ना गर्दै आएको फूलबारी क्लबले भजन प्रतियोगिता, भजनसँग सम्वन्धित वाद्यवादन सीप प्रदान, खुल्ला रक्तदान, टोलमा हुने अपराधिक घटनाको न्यूनीकरण, चोरी नियन्त्रण, सरसफाई, सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।