२१ असोज, पोखरा
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले पार्वती टोल पोखरा बसपार्कमा एकदिने कौसी खेती तालिम तथा बिउ बिज सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।
तालिमको क्लबका संस्थापक अध्यक्ष हरि भाटले उद्घाटन गर्दै क्लबले यो वर्ष महिला दिदीबहिनी लक्षित कार्यक्रमलाई अगाडि बढाएकोमा सोही अनुरूप महिला लक्षित कार्यक्रम आयोजना गरिएको बताए ।
कृषि विज्ञ सञ्जिपबहादुर बरालले सहजीकरण गर्दै बजारको महंगीबाट परेको असरलाई थोरै भए पनि न्यूनीकरण गर्न कौसी खेती एउटा सहयोगी माध्यम भएको बताए । उनले कौसीखेतीका नाममा घरको कौसी नै मास्ने तरिकाले नभई विधि र प्रविधिको सही उपयोग गरेर खेती गर्न समेत सुझाव दिए ।
तालिममा सहभागी सम्पूर्णलाई साग, सिमी, बोडीलगायतका बिउ बिजन सहयोग गर्नुका साथै बिरुवा उत्पादन गर्ने, रोप्ने र रोग लागेमा उपचार विधिसमेत सिकाइएको थियो । कार्यक्रममा पार्वती टोल विकास संस्थाका अध्यक्षि भिमबहादुर पुनले संस्थाले निकै उपयोगी र समय सापेक्ष कार्यक्रम टोलमा ल्याइदिएकोमा आभार व्यक्त गरे ।
कार्यक्रम संयोजक लेखमाया थापाले तालिम निकै प्रभावकारी भएको र क्लबबाट प्राप्त सहयोग बिउ बिजको नर्सरीदेखि उत्पादनमा कुनै समस्या आइपरे पुन: सहयोग गर्नसमेत आग्रह गरिन् । लायन वर्ष २०२३/२४ का अध्यक्ष तुल रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष असफल गौतमको स्वागत र पूर्व अध्यक्ष कृष्ण रानाभाटको सञ्चालन रहेको थियो ।